काठमाडौँ - नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय सुधारका लागि ३३ बुँदे माग अघि सारेको छ। अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापासमक्ष मागपत्र बुझाउँदै बदलिँदो समय, प्रविधि र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासअनुकूल विश्वविद्यालयलाई गुणस्तरीय, पारदर्शी, प्रविधिमैत्री, अनुसन्धानमुखी तथा विद्यार्थीमैत्री बनाउन माग गरेको हो।
मागपत्रमा शैक्षिक तथा प्रशासनिक सुधार, परीक्षा प्रणाली, शुल्क निर्धारण, छात्रवृत्ति, पूर्वाधार विकास, पुस्तकालय व्यवस्थापन, विद्यार्थी सेवा, अनुसन्धान तथा विश्वविद्यालयको आर्थिक आत्मनिर्भरतासहितका विषय समेटिएका छन्। अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित सबै तहका परीक्षाका परीक्षा केन्द्र आंगिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्न माग गरेको छ। परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउँदै सुरक्षित विद्युतीय प्रणालीमार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने व्यवस्था गर्नुपर्ने तथा प्रमाणपत्र वितरणलाई सहज र छिटो बनाउनुपर्ने माग पनि गरिएको छ।
केन्द्रीय क्याम्पसअन्तर्गत सञ्चालित द्वन्द्व, शान्ति तथा विकास अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन र समाजकार्यलगायतका कार्यक्रमको शुल्क पुनरावलोकन गरी विद्यार्थीको पहुँचमा ल्याउन संगठनले माग गरेको छ।
निजी क्याम्पसले मनोमानी शुल्क असुल्ने प्रवृत्ति रोक्न व्यवसाय प्रशासन, व्यवसाय व्यवस्थापन, सूचना प्रविधि, होटल व्यवस्थापन, पर्यटन तथा यात्रा व्यवस्थापन र कम्प्युटर विज्ञान तथा सूचना प्रविधिलगायतका कार्यक्रमको न्यूनतम तथा अधिकतम शुल्क सीमा निर्धारण गर्नुपर्ने अनेरास्ववियुको माग छ।
परीक्षा नतिजा प्रकाशनमा समयसीमा तोक्नुपर्ने मागसमेत गरिएको छ। एक हजारभन्दा कम विद्यार्थी भएका कार्यक्रमको नतिजा ३० दिनभित्र र २० हजारभन्दा बढी विद्यार्थी भएका कार्यक्रमको नतिजा ६० दिनभित्र सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने संगठनले जनाएको छ।
शोधप्रबन्ध तथा विद्यावारिधि शोधप्रबन्धमा हुने साहित्यिक चोरी परीक्षण निःशुल्क गर्न, मूल्यांकन प्रक्रिया पारदर्शी तथा विकेन्द्रीकृत बनाउन र पुनःयोग तथा पुनःजाँच गर्दा परीक्षा नियन्त्रण कार्यालयको त्रुटि प्रमाणित भए शुल्क फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक, प्रभावकारी तथा विद्यार्थीमैत्री बनाउँदै पाठ्यपुस्तक र अनुसन्धान सामग्री नियमित रूपमा अद्यावधिक गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ। वनस्पति विज्ञान, प्राणी विज्ञान र समाजकार्य विभागका लागि आधुनिक भवन तथा छात्रावास निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ।
विश्वविद्यालयको दीर्घकालीन विकासका लागि विस्तृत गुरुयोजना तयार गरी त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पहिचान झल्कने गुणस्तरीय पूर्वाधार निर्माण गर्नुपर्ने अनेरास्ववियुको माग छ। विश्वविद्यालयको पहिचान प्रवर्द्धन, नवप्रवर्तन, अनुसन्धान र आर्थिक आत्मनिर्भरता बढाउन उत्पादनमुखी नीति अवलम्बन गर्नुपर्ने मागसमेत गरिएको छ। छात्रवृत्ति प्रणालीलाई एकीकृत, पारदर्शी तथा विद्युतीय बनाउन र आर्थिक रूपमा विपन्न तथा योग्य विद्यार्थीका लागि निःशुल्क छात्रवृत्तिको प्रभावकारी व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ।
चारवर्षे स्नातक कार्यक्रमको प्रभावकारिता, विद्यार्थीमाथि परेको समय तथा आर्थिक भार र अन्तर्राष्ट्रिय अभ्यासको समीक्षा गरी आवश्यक देखिए तीनवर्षे स्नातक कार्यक्रम पुनः सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको छ।
यसैगरी, कम्प्युटर अनुप्रयोग अध्ययन कार्यक्रममा २० प्रतिशत आन्तरिक मूल्यांकन, शोध निर्देशक पठाउने व्यवस्था तथा अतिरिक्त शुल्कसम्बन्धी विषयमा आवश्यक सुधार गर्नुपर्ने माग अनेरास्ववियुले अघि सारेको छ। अनेरास्ववियुले आफ्ना माग कार्यान्वयनमा सम्बन्धित निकायले उचित तदारुकता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।