चितवन - विद्यालय तहमा विद्यार्थीले कपाल छोटो बनाउने कि लामो राख्ने भन्ने विषय पछिल्लो समय अभिभावक, विद्यालय र विद्यार्थीबीचको विवादको कारण बन्न थालेको छ। विशेषगरी कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोर विद्यार्थी लामो कपाल राख्न आकर्षित हुन थालेपछि विद्यालय र अभिभावकलाई व्यवस्थापन गर्न चुनौती थपिएको छ।
चितवनको कृष्णपुरका विनोद ढकालका कक्षा ९ मा अध्ययनरत छोराले कपाल छोटो बनाउन नमानेपछि विद्यालयबाट समेत उनलाई फोन आएको छ। विद्यालयले कपाल छोटो बनाउन आग्रह गरे पनि छोराले नमानेपछि आफूले जबर्जस्ती गर्न नसकेको ढकाल बताउँछन्।
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई कपाल काट्न भन्न छाडिसकेका उनी कक्षा ७ मा पढ्ने कान्छो छोराले समेत आफ्नो आग्रह बेवास्ता गर्न थालेको बताउँछन्।
यी घटना चितवनका प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय धेरै अभिभावकले आफ्ना छोराछोरीले कपाल छोटो बनाउन नमान्ने गरेको गुनासो गर्न थालेका छन्। विद्यालय तहदेखि उच्च शिक्षासम्म अध्ययनरत विद्यार्थीमा लामो कपाल राख्ने तथा त्यसलाई आधुनिक शैलीमा मिलाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ।
विद्यालयले विद्यार्थीलाई इच्छाविपरीत कपाल काट्न लगाउन नपाउने व्यवस्था भएपछि केही विद्यालयले अभिभावकको सहयोग लिन थालेका छन्। कतिपय विद्यार्थीले भने कपाल काट्न दबाब दिएको भन्दै हेलो सरकार तथा प्रहरीसमक्ष समेत उजुरी गर्ने गरेका छन्।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाब दिएर कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी गर्ने गरेको जानकारी महाशाखासम्म आउने गरेको छ। विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा रहने वा अभिभावकभन्दा टाढा रहेका विद्यार्थीमा यस्तो समस्या बढी देखिएको उनको भनाइ छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी पनि विद्यार्थीलाई कपाल काट्न दबाब दिने अवस्था नरहेको बताउँछन्। उनका अनुसार देशभरका ३५ भन्दा बढी निजी विद्यालयविरुद्ध जबर्जस्ती कपाल काट्न लगाएको भन्दै हेलो सरकारमा उजुरी परेको जानकारी आएको छ।
सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न लगाउने कार्यलाई निरुत्साहित गरेको छ। नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पार्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठामा गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ।
त्यस्तै, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्यसमेत गर्न नपाइने व्यवस्था नियमावलीमा छ।
सामाजिक सञ्जालको प्रभाव
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञानका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरे किशोर अवस्थामा आफूलाई मनपर्ने व्यक्तिको शैलीको अनुकरण गर्ने प्रवृत्ति स्वाभाविक रहेको बताउँछन्।
उनका अनुसार विगतमा विद्यार्थीले चलचित्र तथा सञ्चारमाध्यममार्फत सेलिब्रेटीको जीवनशैलीबारे जानकारी पाउने गरे पनि अहिले इन्टरनेट र सामाजिक सञ्जालका कारण बालबालिकाले सानै उमेरदेखि विश्वभरका कलाकार तथा चर्चित व्यक्तिको शैली हेर्न पाउँछन्। त्यसैले उनीहरूमा त्यस्ता शैलीको अनुकरण गर्ने प्रवृत्ति पनि बढेको उनको भनाइ छ।
“नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो। सेलिब्रेटीले जे गर्छन्, त्यसको नक्कल गर्न उनीहरू चाहन्छन्,” घिमिरे भन्छन्।
उनका अनुसार कपाल लामो राख्नु आफैंमा नराम्रो विषय होइन। तर त्यसको स्याहारमा लाग्ने समय र खर्च तथा त्यसले अध्ययनमा पार्न सक्ने असरलाई भने बेवास्ता गर्न नहुने उनी बताउँछन्। परिवार र विद्यालयले कपाल छोटो बनाउन निरन्तर आग्रह गर्दा पनि नमानेको अवस्थालाई किशोरको स्वतन्त्रता खोज्ने वा आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा समेत बुझ्न सकिने उनको भनाइ छ।
स्वास्थ्य र सरसफाइको पक्ष
विशेषगरी किशोर विद्यार्थीमा छोटो कपालको परम्परागत शैलीभन्दा आफूलाई आकर्षक, फरक र आधुनिक देखाउने शैलीप्रति आकर्षण बढेको देखिन्छ। सामाजिक सञ्जाल, चलचित्र, संगीत र विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको छ।
यद्यपि लामो कपाल राख्दा नियमित सरसफाइ र हेरचाहमा बढी समय दिनुपर्ने हुन्छ। कपाल सफा नगर्दा जुम्रा, चाया तथा अन्य समस्या देखिन सक्छन्। लामो वा बाक्लो कपालमा पसिना र फोहोर जम्ने भएकाले गर्मी मौसममा सरसफाइमा थप ध्यान दिनुपर्ने हुन्छ।
त्यसैले विद्यार्थीको व्यक्तिगत रोजाइ र अधिकारको सम्मान गर्दै विद्यालय तथा अभिभावकले अनुशासन, सरसफाइ र स्वास्थ्यका विषयमा भने संवादमार्फत सचेत गराउनुपर्ने देखिन्छ।