काठमाडौँ- रसुवामा आएको बाढी तथा पहिरोपछि २१७ विद्यार्थी र १५ शिक्षक अझै सम्पर्कमा आउन नसकेको शिक्षा विभागले जनाएको छ। विभागका निर्देशक निलकण्ठ ढकालका अनुसार प्रारम्भिक विवरणअनुसार उनीहरू सम्पर्कविहीन अवस्थामा छन्।
विभागका अनुसार सम्पर्कविहीन विद्यार्थी तथा शिक्षक रसुवा, नुवाकोट र धादिङका विभिन्न शैक्षिक संस्थासँग सम्बन्धित छन्। उनीहरूको अवस्थाबारे थप विवरण संकलन तथा खोजी भइरहेको विभागले जनाएको छ।
बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवनसहित अन्य भौतिक तथा शैक्षिक संरचनामा समेत क्षति पुगेको छ। कतिपय विद्यालयका संरचनामा पूर्ण क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको प्रारम्भिक विवरण छ।
विभागले प्रभावित विद्यालयको क्षतिको जिल्लागत विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ। यकिन तथ्यांक प्राप्त भएपछि त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रम अघि बढाइने शिक्षा मन्त्रालयले जनाएको छ।
यसैबीच, शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी प्रभावित विद्यालयको पुनर्निर्माणका लागि ‘ठूला विद्यालय’को अवधारणा अघि बढाउने तयारी गरेको छ। मन्त्रालयले विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, प्रभावित विद्यालय तथा विद्यार्थीको पुनःस्थापना र आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूहका प्रतिनिधिहरूसँग छलफल गरेको हो।
छलफलका क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माण गर्दा दीर्घकालीन आवश्यकता र सुरक्षित शैक्षिक संरचनालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालय पुनर्निर्माण गर्दा आवासीय सुविधा र विद्यालय बसको व्यवस्थासहितका ठूला विद्यालय निर्माणको अवधारणाअनुसार अघि बढ्न सकिने धारणा राखे।
बाढी तथा पहिरोका कारण विद्यालयहरू छरिएर सञ्चालन गर्न कठिनाइ हुने र भौतिक संरचनामा समेत ठूलो लगानी आवश्यक पर्ने अवस्थामा सुरक्षित तथा सुविधासम्पन्न ठूला विद्यालय निर्माणले विद्यार्थीको शैक्षिक निरन्तरता सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयले विपद्बाट क्षतिग्रस्त विद्यालयको अवस्था पहिचान गरी प्राथमिकताका आधारमा पुनःस्थापना तथा पुनर्निर्माण अघि बढाउने जनाएको छ। साथै, प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिने र उनीहरूलाई सुरक्षित शैक्षिक वातावरणमा फर्काउने विषयलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।