काठमाडाैँ- जापान नेपाली विद्यार्थीकाे प्रमुख शैक्षिक गन्तव्य मध्य एक हाे। विद्यार्थीले जापानलाई किन शैक्षिक गन्तव्य बनाएका छन्? जापानकाे शैक्षिक प्रणाली र त्यहाँकाे वातावरण, जापान अध्ययनका विषयमा परामर्श व्यवसायीकाे दृष्टिकाेण, जापानीज भाषा स्कुलले भाेग्नुपरेका समस्या र सरकारकाे नजरमा जापानकाे शिक्षा लगायतका विषयमा जापानीज भाषा स्कुल संघ, नेपाल (जालसान) का अध्यक्ष एंव ओपन भिजन एजुकेशन फाउन्डेसनका प्रवन्ध निर्देशक रमेश देवकोटासँग गरिएको संक्षिप्त कुराकानी।
नेपाली विद्यार्थीले जापानलाई शैक्षिक गन्तव्यको रुपमा रोज्नुको कारण के देख्नुहुन्छ ?
जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। विद्यार्थी अध्ययनसँगै अवसरको खोजिमा जापान गएका छन्। जापान बसोबासका हिसाबले सुरक्षित मुलुक हुनुकासाथै अध्ययन पश्चात रोजगारीको अवसर पनि छ। विद्यार्थीले भाषा पढ्दै गर्दा पनि त्यहाँको नीति नियम भित्र रहेर काम गर्न पाउछन्। भाषा अध्ययन पश्चात विद्यार्थीलाई अन्य अवसरको ढोका खुल्छ। विशेष गरेर मध्यमवर्गिय परिवारका विद्यार्थीको रोजाइमा जापान पर्ने गरेको छ।
विद्यार्थीले जापानमा अध्ययनकै क्रममा हप्ताको २८ घण्टा काम गर्न पाउछन्। स्कुल बिदाको समयमा पनि काम पाउने भएकाले शिक्षण शुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन। स्कुल विदाको समयमा हप्ताको ४० घण्टासम्म काम गर्न पाउछन्। जापानमा विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने सुविधा पनि छ। विद्यार्थीले एक वर्षपछि स्कुल र ठाउँ परिवर्तन गर्न सक्छन्। हाम्रो संस्कृति पनि मिल्लोजुल्दो भएकाले पनि नेपाली विद्यार्थीले जापानलाई आफ्नो शैक्षिक गन्तव्य बनाएका छन्।
जापान नेपाली विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्य किन हुन सकेन ?
जापान नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। जापान पहिलो वा दोस्रो भन्दा पनि विद्यार्थी किन जापान गएका छन् भन्ने प्रमुख विषय हो। नेपाली विद्यार्थी जापान अध्ययनमा जादाँ भाषा सिक्नुपर्ने हुन्छ। अष्ट्रेलिया, अमेरिका, क्यानडा गएजस्तो जापान होइन। जापान जाने विद्यार्थीको उद्देश्य स्पष्ट हनुपर्छ।
नेपाली विद्यार्थी किन जापान गएका छन्, त्यहाँ पढिसकेपछि के-कस्तो अवसर पाइन्छ? भन्ने प्रमुख कुरा हो। विद्यार्थी र अभिभावकले पनि जापानको शिक्षा प्रणाली, त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्न आवश्यक छ। जापान साने संख्याबाट सुरु भएका आज हजारौँको संख्यामा विद्यार्थी अध्ययनका लागि गएको मुलुक हो।
जालसानले जापानको शिक्षा केन्द्रित के - कस्ता गतिविधी गर्दै आएको छ?
जालसानले सुरुवाति दिनदेखि नै जापानीज भाषा प्रर्वद्धनमा केन्द्रित भएर भाषागत रुपमा दक्षता वृद्धि गर्ने उद्देश्यले टिचर ट्रेनिङ सञ्चालन गर्ने काम गर्दै आएको छ। यसका अलावा जालसानले समाजसेवाका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
जापानमा सुनामी जाँदा होस् वा नेपालमा भूकम्प जाँदा हामीले पिडित विद्यार्थी र अभिभावकलाई पनि सहयोग गरेका छौँ। जापानको शिक्षालाई प्रर्वद्धन गर्न जापान एजुकेसन फेयरको आयोजना गरेका थियौ। हामीले जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गर्दै आएका छौँ।
भूकम्पको समयमा जापानका स्कुलसँग सहयोग जुटाएर नेपालका विद्यालयको भवन निर्माणमा सहयोग गरेका छौँ। जापानको संस्कृतिलाई नेपालीमाझ परिचित गराउने काम जालसानले गरेको छ। जापानमा मनपराइने साकुरा फूललाई नेपालमा रोप्ने र हानामी संस्कृतिको विकास गर्न मद्धत गरेका छौँ। जालसानले व्यवसायीक प्रर्वद्धनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने काम पनि गरेको छ।
जापान जाने विद्यार्थीले विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिदाँ समस्या भोग्नुपरेको छ नि, के भन्नुहुन्छ?
हामीले नेपाल सरकारलाई जापानको शिक्षा प्रणालीको बारेमा जानकारी गराएका छौँ। जालसानले जापानको शिक्षा प्रति नेपाल सरकारको दृष्टिकोणमा परिवर्तन ल्याउन भूमिका निर्वाह गरेको छ। जापान पनि नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो भन्ने विषयमा सरकारलाई हामीले बुझाउन सफल भएका छौँ।
रेमिट्यान्समा नेपालबाट जापान गएका विद्यार्र्थीको योगदान महत्वपूर्ण छ। नेपाल सरकारले जापानमा विद्यार्थी भाषा स्कुलमा जान्छन् र भाषागत जानकारी लिनु अनिवार्य छ भन्ने कुरा बुझ्नुपर्छ। भाषा अध्ययन गरेपछि मात्र जापानमा विश्वविद्यालय शिक्षा लिन पाइन्छ भन्ने कुरा हामीले बुझाएका छौँ।
![](https://www.edusawal.com/uploads/editor/2024-03-16/101347763ramesh devkota.jpeg)
विद्यार्थीले नोअव्जेक्सन लेटर लिदाँ समस्या भोग्नुपरेको अवस्था छ। हामीले एनओसी समस्या समाधान गर्न पहल गरेका छौँ। विदेश अध्ययन अनुमति पत्र भर्ना प्रक्रिया पुरा गरेपछि स्कुलको अफर लेटरको आधारमा जारी गर्नुपर्छ भनेर हामीले माग गर्दै आएका छौँ। विद्यार्थीले एनओसी लिन सिओइ कुर्नुपर्ने अवस्था छ।
जसका कारण एकैपटक एनओसी लिनेको भिड लाग्छ। जापानमा अध्ययन जाने विद्यार्थीलाई पनि विश्वविद्यालयले दिएको अफरलेटरको आधारमा एनओसी जारी गर्नुपर्छ। जापानमा ६ महिनाको सिओई भएतापनि न्युनतम १५ महिना भाषा शिक्षा लिन जाने भएकाले सरकारले सहज रुपमा एनओसी जारी गर्नुपर्छ।
उच्च शिक्षा विधेयक प्रति जालसानको धारणा के छ ?
उच्च शिक्षा विधेयक प्रति सरकारले सरोकारवालासँग मागेको सुझाब प्रति जालसानले आफ्नो धारणा प्रस्तुत गरिसकेको छ। हामीले बुझाएको सुझाबमा छलफलका लागि हामीलाई बोलाउने भन्नुभएको छ।
हामीले पनि जापानमा विद्यार्थी भाषा अध्ययन गर्न भाषा स्कुलमा जाने भएकाले मस्यौदामा भाषा अध्ययन गर्न जानेलाई पनि उच्च शिक्षा अन्तर्गत नै राख्नुपर्छ भनेर सुझाब दिएका छौँ। परामर्श व्यवसायमा धरौटी लगायतका प्रावधानलाई विधेयकको प्रारम्भिक मस्यौदामा समेटिएको छ। हामीले परामर्श व्यवसाय र भाषा तयारी कक्षा सञ्चालन गर्न धरौटी लगायतका प्रवन्ध राख्नुहुँदैन भनेका छौँ।
जापान जाने उद्देश्य बोकेका विद्यार्थी र उनिहरूका अभिभावकलाई के भन्नुहुन्छ?
जापान जानु भन्दा अघि विद्यार्थीले आफू किन जान लागेको भन्ने विषयमा स्पष्ट हुन जरुरी छ। भाषागत दक्षता भएका विद्यार्थीलाई जापानमा अवसरको कमी हुँदैन। विद्यार्थीले अध्ययन पश्चात वर्किङ भिसा परिवर्तन गरेर जापानमा काम गर्न पाउँछन्।
विद्यार्थी जापान जानुपूर्व भाषागत ज्ञान हुन आवश्यक छ। विद्यार्थीले जापानीज भाषा सिकेर आफ्नो भविष्यको योजना बनाएर मात्र जापान जान सुझाब दिन्छु। अभिभावकले पनि आफ्नो सन्तान जापानमा उच्च शिक्षा अध्ययन गर्न जान लागेको भन्ने सम्झिनुपर्छ।
![](https://www.edusawal.com/uploads/editor/2024-03-14/075612844open vision.jpg)