काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलले विगतमा आफूहरूबिच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको नेतृत्वले केशरमहलमा मन्त्री पुनलाई भेटेर सरकारका तर्फबाट हुनसक्ने समस्या समाधानका विषय कार्यान्वयनका लागि आग्रह गरेको हो।
विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेको प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारका तर्फबाट हुनसक्ने सम्बोधनको विषय कार्यान्वयनका लागिमहासंघले मन्त्री पुनलाई आग्रह गरेको हो।
महासंघले सरुवा कार्यविधिको खारेजी र परिमार्जन, विभिन्न पालिकाबाट अस्थायी प्रकृतिका शिक्षकमाथि करार नवीकरणका नाममा गरिएको आनाकानी, तलब रोकिएको अवस्थालगायत विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष सुवेदीले जानकारी दिए।
शिक्षामन्त्री पुनले शिक्षक र कर्मचारीका पेसागत मुद्दामा आफू गम्भीर रहेको बताउँदै शिक्षाको गुणस्तर बढाउन शिक्षक दत्तचित्त हुनुपर्नेमा जोड दिएका थिए।
.jpeg)
महासंघले यसअघि गरेको प्रदर्शनपछि सरकारसँगको सहमतिमा गत वैशाख १७ गते मन्त्रिपरिषद्बाट निजामती अस्पतालबाट शिक्षक कर्मचारीलाई स्वास्थ्योपचारमा सहुलियत, अस्थायी र करारका विभिन्न प्रकृतिका शिक्षकको बिरामी र सञ्चित बिदाबापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट रूपमा उपलब्ध गराउने, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकेबमोजिम हुनेलगायत नौ बुँदे निर्णय गरेको थियो।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयलमा मन्त्री पुनलाई आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दा मन्त्री पुनले लिखित रूपमै स्पष्ट हुने गरी माग बुझाउन आग्रह गरेकाे अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।
