काठमाडाैँ - नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ शिक्षा र पेसालाई व्यवस्थित बनाउन विभिन्न प्रयासहरु गर्दै आएको छ। परिषद्ले इन्जिनियरिङ शिक्षा तर्फ स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षा सञ्चालन गरी पेसा सञ्चालनका लागि प्रमाण पत्र प्रदान गर्दै आएको छ। पछिल्लो समय विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै नेपालका शिक्षणसंस्थाहरुमा विद्यार्थीको अभाव हुने गरेको छ।
पोखरा विश्वविद्यालयको प्राध्यापक हुँदै नेपाल इन्जिनियरिङ परिषद्को अध्यक्षका रूपमा इन्जिनियरिङ क्षेत्रको अनुसन्धान र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका शाहि निडर र प्रखर वक्ताका रुपमा चिनिन्छन्। इन्जिनियरिङ शिक्षा तर्फ विश्वविद्यायले लिने प्रवेश परीक्षा, इन्जिनियरिङ शिक्षामा अन्र्तराष्ट्रिय मान्यता, शिक्षाको गुणस्तर, विद्यार्थी विदेशिनुको कारण, अनुगमन र नियमन, परिषद्ले सञ्चालन गर्ने लाइसेन्स परीक्षा र नतिजा लगायतका विषयमा परिषद्का अध्यक्ष प्रा.डा पदम बहादुर शाही सँग ईडीयू सवाल डटकमका प्रतिनिधीले गरेको कुराकानीको मुख्य अंशः
इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्न सरकार, विश्वविद्यालय, कलेज र काउन्सिलको भूमिका कस्तो हुनुपर्छ ?
इन्जिनियरिङ शिक्षा पूर्वाधार, सूचना प्रविधि, विकास निर्माण लगायतको क्षेत्रमा आवश्यक दक्षजनशक्ती उत्पादन गर्ने पेसा हो। इन्जिनियरिङ शिक्षाको स्वरुप समय र परिस्थिति अनुसार परिवर्तन भइरहन्छ। काउन्सिलले शिक्षणसंस्थालाई नियमन गर्दै आएको छ। इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउन काउन्सिलको भूमिका महत्वपूर्ण हुन्छ। नेपालको इन्जिनियरिङ शिक्षा अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक छ जसका लागि काउन्सिलले पहल गर्दै आएको छ। नेपालमा इन्जिनियरिङ शिक्षा सुधारको लागि विद्यार्थीहरूलाई कक्षा कोठाको अध्ययनलाई मात्र जोड नदिई फिल्ड तय गरी बाहिरी संसारमा प्रयोगात्मक कार्यलाई बढी जोड दिन जरुरी छ।
हाम्रो पाठ्यक्रम विश्वका अन्य मुलुकको तुलनामा कमजोर छैन। योे अनुभूति विद्यार्थीलाई दिलाउन सक्नुपर्छ। अर्को कुरा इन्जिनियरिङ परिषद्ले यस व्यवसायलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन पहल गर्दै आएको छ। परिषद्ले इन्जिनियरिङ शिक्षातर्फ विश्वविद्यालयले दिने सम्बन्धन र पठनपाठनको क्रियाकलापलाई अनुगमन र नियमन गर्ने काम गरेको छ। परिषद्ले इन्जिनियरिङ शिक्षाको अन्तर्राष्ट्रिय मान्यतालाई बढाउन अन्तर्राष्ट्रिय फोरमहरूमा प्रयासहरु पनि गर्दै आएको छ। यसैको प्रयास स्वरुप परिषद्ले नेपालको इन्जिनियरिङ शिक्षालाई संयुक्त राज्य अमेरिकाको वासिङटन एकर्डमा मेम्बर बनाएर विश्वभर मान्यता दिने पहल पनि थालेको छ।
इन्जिनिरिङ शिक्षा आर्जन गर्न ठूलो संख्यामा विद्यार्थी विदेशिनुको कारण के होला ?
इन्जिनिरिङ शिक्षा आर्जन गर्न विद्यार्थी विदेशिनुको प्रमुख कारण अध्ययन पश्चात रोजगारीको अवसरको सुनिश्चितता नै हो। विदेशमा उच्च शिक्षा आर्जन गरेर आएका विद्यार्थीहरु पनि नेपालको इन्जिनियरिङ लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका थुप्रै उदाहरणहरु छन्। विद्यार्थीहरु नयाँ अवसर, प्रविधि र सा्रेतसाधनको खोजीमा विदेश गएका हुन्। फेरी सबै पुर्वाधार उपलब्ध छ भन्दैमा गुणस्तरीय शिक्षा हुन्छ भन्ने पनि हुदैँन। नेपालमा पनि विषयगत रुपमा आवश्यक स्रोतसाधन उपलब्ध गराइ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ।

काउन्सिलले इन्जिनियरिङ शिक्षा तर्फ कलेजको सिटसंख्या अनुसार पूर्वाधारको विषयलाई कसरी नियमन गर्छ?
नेपालमा सञ्चालित विश्वविद्यालयहरु नयाँ विषय थपघट गर्न स्वतन्त्र छन्। विश्वविद्यालयहरुलाई विषय छनोटको लागि परिषदले हस्तक्षेप तथा कुनै सर्कुलर पनि गर्देन। तर त्यो विषयको लागि आवश्यक शैक्षिक भौतिक पूर्वाधारलाई भने मध्यनजर गर्नु परिषदको कर्तव्य हो। कलेजहरुले विषय छनोट गर्न स्वतन्त्र भएता पनि त्यस विषयको लागि आवश्यक भौतिक शैक्षिक पूर्वाधारका सम्वन्धमा भने नियमन गरि निर्देशन दिन्छ।
काउन्सिलले विश्वविद्यालय र कलेजहरुलाई अनुगमन गर्ने गरेको छ। काउन्सिलले अस्थायी वा ५ वर्ष नपुगेको संस्था छ भने प्रत्येक वर्ष अनुगमन गर्छ। ५ बर्ष पुगिसकेको संस्था छ भने २ वर्षमा एकपटक अनुगमन गर्ने गरेको छ। त्यस्तै काउन्सिलले नयाँ खोलिएको संस्था र प्रत्येक संस्थाले नयाँ विषय सुरु गर्ने बेलामा अनुगमन गर्ने गरेको छ। अर्को कुरा कोटा निर्धारणका सम्वन्धमा विश्वविद्यालयको क्षमता, विगतमा विद्यार्थीको संख्या, भौतिक संरचना, स्थान आदिका आधारमा कोटा निर्धारण गर्छ।
इन्जिनियरिङ विषय अध्यापन हुने विश्वविद्यालयहरुमा एकरुपता ल्याउन के गर्नुपर्छ?
विश्वविद्यालय आफैमा एक विश्व हो। विश्वविद्यालयहरुमा एकरुपता हुन जरुरी छैन तर जसले कानुन अन्र्तगत रहेर जुन ढङ्गले सञ्चालन गरेतापनि त्यो उत्कृष्ट भने हुन जरुरी छ। काउन्सिलले कुनै पनि कलेज र विश्वविद्यालयलाई मापदण्ड तोकेको छैन। मेरो आफ्नो व्यक्तिगत विचारमा विश्वविद्यालयले लिने प्रवेश परीक्षा पनि फरक फरक ढाँचामा सञ्चालन हुन जरुरी छ। एउटै खालको ढाँचामा परीक्षा हुनुपर्दछ भन्ने छैन।
तसर्थ काउन्सिलले कुनै पनि मापदण्ड नतोकेको भएपनि इन्जिनियरङ विषय अध्ययनको लागि कक्षा १२ मा विज्ञान विषय लिएर पढेको हुनुपर्छ। यो एउटा मात्र मापदण्ड काउन्सिलद्वारा तोकिएको हो। प्रवेश परीक्षाको आधारमा विद्यार्थीलाई पढ्ने अवसरबाट बञ्चित गर्नु नै गलत प्रविधि हो। कक्षा १२ मा कारणबस थोरै अंक प्राप्त गरेको विद्यार्थीले भविष्यमा स्नातक तहमा राम्रो पनि गर्न सक्छ। त्यसैले प्रवेश परीक्षाका आधारमा विद्यार्थीलाई पढ्ने अवसरवाट बञ्चित गर्न हुदैँन भन्ने मेरो मान्यता रहेको छ।

कक्षा १२ उत्तीर्ण गरेर इन्जिनियरिङ शिक्षातर्फ आफ्नो भविष्य बनाउन चाहने विद्यार्थी र अभिभावकहरुलाई के भन्नुहुन्छ?
परिषद्ले गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै दक्ष जनशक्ती उत्पादन गर्ने विषयमा जिम्मेवार पूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको छ। धेरै जनशक्तीको माग भएको विषय भएकाले पनि विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ। विश्वविद्यालयले इन्जिनियरिङ शिक्षातर्फ छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।
यो पेसालाई मर्यादित बनाउन परिषद्ले नियमन गर्ने भएकाले यसको अध्ययन र पेसा गर्नेहरुकोे भविष्य सुनिश्चित देखिन्छ। इन्जिनियरिङ पेसा समाजको उत्कृष्ट पेशा भएतापनि अभिभावकहरुले आफ्नो छोाछोरीलाई रुचीको आधारमा विषय रोज्न दिनुपर्छ। उनीहरुले पढन चाहेको विषयलाई नै अभिभावकले सहजिकरण गरिदिनुपर्छ। नेपालमा इन्जिनियरिङ मात्र राम्रो विषय होइन अरु विषय पनि राम्रा हुन् र उपयोगी छन् भन्ने बुझाउन सक्नुपर्छ।