काठमाडाैँ- पछिल्लाे समय इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीकाे आकर्षणसँगै विषय र शैक्षिक गन्तव्य परिवर्तन भएकाे अवस्था छ। विद्यार्थी कक्षा १२ काे परीक्षा दिएसँगै विश्वविद्यालयमा भर्ना पाउनका लागि प्रवेश परीक्षाकाे तयारी गर्ने उपयुक्त शिक्षणसंस्थाकाे खाेजीमा हुन्छन्। सरकारले इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्न नसक्दा नेपालमा सञ्चालित इनइन्जिनियरिङ कलेजले केहि समस्या भाेग्नुपरेकाे अवस्था पनि छ। विद्यार्थीले नेपालमै किन इन्जिनियरिङ शिक्षा आर्जन गर्ने, यसकाे करिअर स्काेप, अध्ययन पश्चात राेजगारीकाे अवसर लगायतका विषयमा इन्जिनियरिङ तयारी कक्षा सञ्चालन गर्ने नेपालकै उत्कृष्ट संस्था पिइए एसोसिएसनका सीईओ लक्ष्मण पाेखरेलसँग गरिएकाे कुराकानीकाे मुख्य अंश।
विद्यार्थीले नेपालमै किन इन्जिनियरिङ शिक्षा आर्जन गर्ने?
नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत २०३७ सालमा पुलचोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ तर्फ २४ सिटबाट इन्जिनियरिङ विषयको अध्यापन सुरु भएको हो।
२०५१ सालसम्म नेपालमा सिभिल इन्जिनियरिङ मात्र अध्यापन हुन्थ्यो। अहिले २०८१ सालसम्म आइपुग्दा ८ वटा विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा इन्जिनियरिङ तर्फका सिभिल, कम्युटर, बायोमेडिकल जियोमेटिक्स, रोवटिक्स, अटोमेसन इन्जिनियरिङसम्म २५ वटा विधामा इन्जिनियरिङ विषय अध्यापन हुन्छ।
करिब १२ हजार विद्यार्थीले नेपालमा प्रत्येक वर्ष इन्जिनियरिङ शिक्षा आर्जन गर्न पाउँछन्। २४ सिटबाट १२ हजार सिट पुग्नु भनेको इन्जिनियरिङ शिक्षातर्फ राज्यले ठूलै फड्को मारेको सम्झनुपर्छ।
नेपाली विश्वविद्यालयले गुणस्तरका हिसाबले पनि सुधार गर्दै लगेको अवस्था छ। विदेशमा भन्दा नेपालमा अध्ययन गरेका विद्यार्थीले सहज रुपमा नेपाल इन्जिनियरिङ परिषद्ले सञ्चालन गरेको इन्जिनियरिङ लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने गरेका छन्।
विदेशबाट अध्ययन गरेर आउने विद्यार्थी १०÷११ प्रतिशत मात्र उत्तिर्ण भएका छन्। लाइसेन्स परीक्षालाई आधार मान्दा यसबाट के स्पष्ट हुन्छ भने नेपालको इन्जिनियरिङ शिक्षामा गुणस्तर छ।
करिअरका हिसाबले अन्य विषयको तुलनामा इन्जिनियरिङ शिक्षाको स्कोप कस्तो देख्नुहुन्छ? इन्जिनियरिङ नै किन पढ्ने?
कक्षा १२ मा विज्ञान अन्तर्गतका विषय अध्यापन गर्ने विद्यार्थीले इन्जिनियरिङ आईटीलाई आफ्नो करिअर बनाउने हो भने उसको भविष्य सुनिश्चित देखिन्छ। कम्प्युटर इन्जिनियरिङ, आईटी, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका सूचना प्रविधिसँग सम्बन्धित इन्जिनियरिङ शिक्षाको स्कोप छ।
सहज पहुचका हिसाबले सिट संख्या धेरै भएकाले पनि विद्यार्थीले इन्जिनियरिङ शिक्षा आर्जन गर्न पाउछन्। अर्को कुरा यति धेरै छात्रवृत्ति भएको विषय पनि इन्जिनियरिङ नै हो। ३ हजार भन्दा बढी छात्रवृत्ति कोटा विद्यार्थीले इन्जिनियरिङ शिक्षा आर्जन गर्न पाउछन्। मेडिकल र प्यारामेडिकल तर्फको कुल सिटसंख्या बराबर इन्जिनियरिङ तर्फ छात्रवृत्ति कोटा नै छ।
आर्थिक अवस्था कमजेर भएका विद्यार्थीलाई पनि अवसर छ। लागत खर्चका हिसाबले मेडिकल शिक्षाको तुलनामा पनि शिक्षण शुल्क त्यति महंगो छैन। रोजगारीका हिसाबले पनि यसमा अवसर छ। पढिसकेपछि कुनै पनि इन्जिनियर बेरोजगार हुनुपर्दैन।
नेपाल भित्र मात्र नभएर उनीहरूले विश्वभर नै उच्च शिक्षा र रोजगारीको अवसर प्राप्त गरेका छन्। विश्वभर इन्जिनियर र आईटीका जनशक्तीले रोजगार पाएका छन्। यसले स्वरोजगारको अवसर पनि सृजना गरेको छ। ४ वर्षमा विद्यार्थीले ५० भन्दा बढी विषय अध्ययन गर्छन्। एउटा व्यक्ती उद्यमशिल हुन आवश्यक पर्ने सम्पूर्ण जानकारी इन्जिनियरिङ शिक्षा आर्जन गर्दा पाइन्छ। सोसियल स्ट्याटसका हिसाबले पनि इन्जिनियरिङ शिक्षालाई प्रोफेसनलका रुपमा नेपाली समाजमा उच्च स्थानमा राखिएको छ।
गुणस्तरीय इन्जिनियरिङ शिक्षा आर्जन गर्न कस्तो शिक्षण संस्था छनोट गर्ने?
गुणस्तरीय शिक्षा आर्जन गर्न सबै सरकारी कलेज वा यो नै क्याम्पस राम्रो भन्ने हुँदैन। आफूले रोजेको विषय अनुसारको उपयुक्त शिक्षणसंस्था फरक हुन सक्छ। कम्प्युटर र आईटीका विषय अध्ययन गर्न ४० देखि ५० हजार व्यक्तीले रोजगार पाएका छन्। उनीहरूले स्वदेश र विदेशी संस्थाका काम गरेका छन्। कम्प्युटर इन्जिनियर पढ्न दुरदराजका क्याम्समा आवश्यक सुविधा र अवसर नहुन पनि सक्छ।
सिभिल इन्जिनियरिङ नेपालको जुन सुकै विश्वविद्यालयको क्याम्पसमा गएर पढ्न सकिन्छ तर आईटीमा त्यस्तो हुँदैन। काठमाडौँको कलेजमा पढ्दा उसले बढी अवसर पाउन सक्छ। विद्यार्थीले कलेज छनोट गर्दा भौतिक पूर्वाधार, कलेजको नेतृत्व, त्यसको फ्यागल्टी र टिमका बारेमा ध्यान दिनुपर्छ।
उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात प्राप्त गरेका अवसर, पूर्व विद्यार्थीको फिडब्याकलाई हेरेर कलेज छनोट गर्नुपर्छ। विद्यार्थीले डिम्ड युनिभर्सिटीबाट इन्जिनियरिङ शिक्षा आर्जन गर्नु हुँदैन। आफै प्रश्न बनाउने र उत्तरपुस्तिका परीक्षण गर्ने गर्दा गुणस्तरमा समस्या देखिन्छ।
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुको कारण के देख्नुहुन्छ?
लाइसेन्स परीक्षा पहिलो समेस्टर देखि अन्तिम सेमेस्टर सम्मको समग्र विषयलाई लिएर प्रश्न सोधिने परीक्षा हो। यसमा करिब ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा दुईपटमसम्म सहभागी भएका विद्यार्थी सहजै उत्तीर्ण भएका छन्। विदेशी विश्वविद्यालयमा पढेर आएका विद्यार्थी भने धेरै अनुत्तीर्ण भएका छन्।
इन्जिनियरिङ शिक्षा तर्फ नेपाललाई दक्षिण एसियाकै केन्द्र बनाउन सकिन्छ कि सकिदैन?
इन्जिनियरिङ शिक्षा तर्फ नेपाललाई शैक्षिक हब बनाउने विषयमा आवाज उठेपनि यस विषयमा सरकारले नीति बनाउन नसक्दा विदेशी विद्यार्थी भर्ना गर्न पाउने अवस्था छैन। नेपालको शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपलाई हटाउनुपर्छ। विश्वविद्यालय शिक्षा तर्फ विद्यार्थी राजनीतिको अन्त्य नभएसम्म विद्यार्थी भर्ना गरेपनि टिकाउन सकिदैन। नेपालमा विद्यार्थी ल्याउन सकिन्छ तर नेपालमा राजनीतिले गर्दा पढ्ने वातावरण छैन।
नेपाल सरकारले इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउन ध्यान दिएको छ कि छैन?
नेपालका निजी शिक्षणसंस्था दोहोरो मापदण्डमा परेका छन्। एउटा निकायले ठिक छ भन्छ अर्कोले छैन भन्छ। इन्जिनियरिङ काउन्सिल र विश्वविद्यालय कसले अनुगमन र नियमन गर्ने हो स्पष्ट हुनुपर्छ। कलेजलाई विश्वविद्यालयले अनुगमन गर्नुपर्छ काउन्सिलले त उत्तीर्ण भएका विद्यार्थीको गुणस्तर परीक्षण गर्ने र सोही अनुसार व्यवसायीक नीतिगत रुपमा काम गर्नुपर्छ।
विश्वविद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि उच्च शिक्षा आयोगको आवश्यकता छ कि छैन?
विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आयोगको आवश्यकता हुँदैन। नेपालको कमन इन्ट्रान्स उत्तीर्ण नगरी अन्य मुुलुकमा पढेर आए पनि मान्यता नपाउने विषयलाई चिकित्सा शिक्षा आयोगले प्रयोगमा ल्याएको छ। तर गुणस्तरमा एकरुपता ल्याउन एकीकृत प्रवेश परीक्षा आवश्यक छ। आयोग बन्दैमा गुणस्तर सुधार हुन्छ भन्ने हुँदैन। तर यस विषयमा मापदण्ड बनाएर शिक्षाका मुलभूत विषयमा केन्द्रित गर्न सकियो भने यो प्रभावकारी हुन सक्छ।
कक्षा १२ उत्तीर्ण गरेरपछि विश्वविद्यालय तहमा इन्जिनियरिङ शिक्षा आर्जन गर्न करिअर व्रिजको आवश्यकताबारे के भन्नुहुन्छ?
विद्यार्थीले कक्षा ११ र १२ मा करिअरबारे तयारी गर्ने फुर्सद पाएका हुँदैनन्। विद्यार्थीलाई विश्वविद्यालयले सञ्चालन गर्ने इन्जिनियरिङ प्रवेश परीक्षा उत्तीर्ण गर्न तयारी कक्षा आवश्यक पर्छ।
नेपालमा इन्जिनियरिङ शिक्षा अध्ययन पछि रोजगारीका लागि युवा विदेशिएका छन् नि?
हाम्रो पाठ्यक्रम बजार सुहाउँदो हुन आवश्यक छ। नेपालमा उत्पादन भएका इन्जिनियरिङ तर्फका जनशक्ति ए ग्रेडका विद्यार्थीमध्ये ६५ प्रतिशत पश्चिमा मुलुकमा जाने गरेका छन्।
नेपालमा सिभिल इन्जिनियरले २०७२ को भूकम्प पछि पूर्ननिर्माणमा काम पाएका थिए। तर अहिले सिभिल इन्जिनियर बेरोजगार भएका छन्। नयाँ प्रोजेक्ट आएका छैनन्। देशको विकास बजेट खुम्चिदै गएको छ। यसले समस्या भएको छ।
राजनीतिक दलले विकास निर्माणलाई घोषणा पत्रमा सीमित राख्दा यस्तो स्थिति आएको हो। देशविकास भए जनशक्ति नेपालमै खपत हुन्छ।
आईटी पढेका विद्यार्थीले नेपालमा बसेरै विश्वभरका काम गरेका छन्। देश विकास गर्न अहिले भएका इन्जिनियरको संख्याले पुग्दैन। कुल जनसंख्याको एक प्रतिशत इन्जिनियर चाहिन्छ। युवा युरोप, अमेरिका बाहेक खाडी मुलुकमा पनि रोजगारीका लागि गएको अवस्था छ।