काठमाडाैँ - बाराको सिमरास्थित श्री नेपाल राष्ट्रिय माविका शिक्षकले जेनजी आन्दोलन पछि विद्यार्थीले स्कुल जलाउने धम्की दिन थालेको गुनासो गरेका छन्।सोमबार ईलाका प्रहरी कार्यालय सिमरामा मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको उपस्थितीमा आयोजित प्रहरी-स्थानीय अन्तरक्रिया कार्यक्रममा बोल्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १०+२ इन्चार्ज डम्बर खड्काले जेनजी आन्दोलनपछि विद्यार्थीसँग शिक्षक डराउनुपर्ने अवस्था बनेको गुनासो गरेका हुन्।
‘जेनजीको उमेर समुहलाई नै हामीले पढाउनुपर्छ, विद्यार्थीलाई कक्षा कोठामा पढाउँदा पनि डराउनुपर्ने अवस्था बनेको छ,’ खड्काले प्रहरी प्रमुख थपलियासँगको अन्तरक्रियामा भने। अन्तरक्रिया कार्यक्रममा विद्यालयमा दुईसाता अघिको एउटा घटना सम्झँदै शिक्षक खड्काले एउटा विद्यार्थीका कारण एकजना अंग्रेजीको पुराना शिक्षकले जागिरै छाडेको बताए।
‘वीरगञ्जबाट हामीकहाँ पढाउन आउने एकजना शिक्षकले स्कुलै छोड्नुभो,’ उनले भने। यसैबर्ष ११ मा भर्ना भएको एउटा विद्यार्थीलाई पढाईका विषयमा सम्झाउँदा स्कुलै जलाईदिने क्षमता आफूसंग भएको धम्की विद्यार्थीले दिएको खड्काको भनाइ छ। ‘कोठा नम्बर १० मा बस्नुपर्ने विद्यार्थी ९ मा गएछ, ९ को शिक्षकले कोठा नम्बर १० मा पठाउनु भो त्यतिकैमा विद्यार्थी रिसाएर ढोका पनि फुटाइदिएछ, मैलेपनि पछि थाहा पाएँ, शिक्षकसँग रिसाएर उक्त विद्यार्थीले स्कुलै जलाउने धम्की दिएछ। अहिले उक्त शिक्षक वीरगञ्जमै बस्नुहुन्छ पढाउन बोलाउँदा त्यहाँको वातावरण खराब छ भन्नुहुन्छ,’ शिक्षक खड्काले कार्यक्रममा भने।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले भदौ २३ पछि यहाँको व्यावसायिक वातावरण बिग्रिएको भन्दै औद्यागिक तथा व्यावसायिक सुरक्षाका लागि प्रहरीले राम्रो भूमिका नखेलेको गुनासो गरे।
‘जेनजी आन्दोलनले सबै उद्योग व्यवसाय र खासगरी पर्यटन क्षेत्रलाई नराम्रो असर पारेको छ, सुरक्षा निकायले त्यसलाई ध्यान दिएको देखिन्न,’ उनले भने। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियाले हरेक व्यक्ति समस्या लिएर सडकमा आउने प्रवृतिको अन्त्य गर्न समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
गएको बुधबार सिमरामा भएको जेनजी आन्दोलनको कारण र अवस्था बुझ्न सिमरामा स्थानीयसँग भएको छलफलमा डिआईजी थपलियाले जेनजीको उमेर समुहमा हुने संवेगलाई नियन्त्रण गर्न सबैले अभिभावकीय भूमिका खेलिदिन आग्रह गरे।‘जेनजीको उमेर समुहमा रहने संवेगलाई नियन्त्रण गर्न सबैले आफ्नो भूमिका राम्रोसंग निभाउन आवश्यक छ,’ डिआईजी थपलीयाले भने।
भदौ २३ को घटनापछि युवामा बढेको आक्रोशलाई अरूले दुरुपयोग गर्ने सम्भावना बढेको डिआईजी थपलियाको भनाइ थियो।‘भदौ २३ मा युवाको डिमाण्डनै नभएको अवस्था सिर्जना भयो नि, त्यसरीनै हरेक भीडलाई अनियन्त्रित बनाउने चलखेल भईरहन्छ,’ उनले भने।‘जेनजी भनेका हामी सबैका कसैका भाइ कसैका भतिजा छोराहरू हुन्, हामीले उनीहरूलाई नियन्त्रित भएर आफ्ना कुरा राख्न सिकाऔँ,’ उनले सरोकारवालालाई आग्रह गरे। कार्यक्रममा स्थानीय व्यवसायी, शिक्षा क्षेत्रका प्रतिनिधि, स्थानीय व्यवसायी तथा उद्योगहरूका प्रतिनिधि, पत्रकार र संघसंस्थाका प्रमूखहरूले कार्यक्रममा पछिल्लो अवस्थाका विषयमा आफ्ना धारणा राखेका थिए।