काठमाडाैँ- भविष्यमा इन्जिनियर बन्ने योजनासहित कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकले सञ्चालन गर्ने प्रवेश परीक्षाको तयारी गरिरहेका छन्। इन्जिनियरिङ शिक्षा तर्फ नेपालमा बजारको माग अनुसारका १५ भन्दा बढी विषय ८ वटा विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा अध्यापन हुन्छ।
नेपाल इन्जिनियरिङ परिषद्ले विश्वविद्यालयको आंगिक र निजी शिक्षणसंस्थामा अध्यापन हुने विषयको सिटसंख्या निर्धारण गरेको छ। परिषद्को तथ्यांकअनुसार ती विश्वविद्यालयका ५३ वटा संस्थान÷कलेजमा करिब १२ हजार सिट निर्धारण गरिएको छ। त्यसमध्ये करिब ७ हजार विद्यार्थी मात्र भर्ना हुने गरेको तथ्यांक छ। विद्यार्थीले कक्षा १२ पछि स्वदेशका भन्दा विदेशका शिक्षणसंस्थालाई आफ्नो शैक्षिक गन्तव्य बनाएपछि नेपालका शिक्षणसंस्था धरासायी बन्न पुगेका छन्।
विद्यार्थीका लागि उनीहरूको आर्थिक क्षमता र रुचि अनुसारका विषय अध्ययन गर्न निजी शिक्षणसंस्थाले विद्यार्थीलाई आकर्षण गर्न विभिन्न स्कीम पनि ल्याएका छन्। तर कलेजको सिटसंख्या अनुसार विद्यार्थीको चाप भने कम छ। नेपालमा विशेष गरेर कम्प्युटर, सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, एग्रिकल्चर, अटोमोबाइल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन, मेकानिकल, इन्डस्ट्रियल, एरोस्पेस, जियोमेटिक्स, केमिकल इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ तर्फ विद्यार्थीको आकर्षण छ। पछिल्लो समय कम्प्युटर इन्जिनियरिङ शिक्षातर्फ भने विद्यार्थीको आकर्षण बढ्दो छ।
परिषद्का अध्यक्ष डा. पदमबहादुर शाहिका अनुसार इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ शिक्षालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन पहल गर्दै आएको छ। ‘परिषद्ले इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्न शैक्षिक गुणस्तर सुधार गर्दै यसको अन्तर्राष्ट्रिय मान्यतालाई बढाउन भूमिका खेल्छ।’ उनले भने ‘परिषद्ले पठनपाठनको नियमित प्रक्रियालाई मूल्यांकन गर्ने र नियमन गर्ने काम पनि गर्दै आएको छ।’सूचना प्रविधि क्षेत्रको तिव्रतर विकासले इन्जिनियरिङमा आकर्षण बढेको र नेपालका विश्वविद्यालयले समयानुसार पाठ्यक्रम पनि परिमार्जन गर्दै लगिरहेको उनको भनाइ छ।
इन्जिनियरिङ कलेजहरूको छातासँगठन एकोनका अध्यक्ष एंव काठमाडौँ इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा. हिरेन्द्रमान प्रधानले नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर राम्रो रहेको बताए। ‘नेपाल पढ्दा नेपालीपन हुन्छ। नेपाली व्यावसायिक र पेसागत वातावरण बुझ्न पनि सजिलो पर्छ। फिल्डमा काम गर्न सजिलो हुन्छ,’ उनले भने ,‘नेपालमा अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न नसक्दा अहिले पनि ठूलो संख्यामा इन्जिनियरिङ स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी वैदेशिक रोजगारीमा गएको अवस्था छ।’
आवश्यक योग्यता
कक्षा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह वा ‘ए’ लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कुल पूर्णांकको कम्तीमा ४५ प्रतिशत तथा लेटर ग्रेडिङ भएमा प्रत्येक विषयको अन्तिम ग्रेडमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरी उत्तीर्ण गरेका वा कक्षा १२ वा सोसरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैटौँ सेमेस्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीले विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षामा सहभागी हुन पाउँछन्।
रोजाइका विषय
इन्जिनियरिङ पेसामध्ये पछिल्लो समय सबैभन्दा बढी आकर्षणको विषय हो कम्प्युटर इन्जिनियरिङ। सिभिल, आर्किटेक्चर र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन पछि बायोमेडिकल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स, एग्रिकल्चर, सफ्टवयर, जियोमेटिक्स इन्जिनियरिङमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ को दफा ३८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको अनुसूचीको बुँदा नम्बर ४७ मा इन्जिनियरिङ विषय थप गर्न दिएको दिन सकिने उल्लेख छ। सोही व्यवस्थाअनुसार नेपालमा अटोमोबाइल, एरोस्पेस, पेट्रोलियम, मेकाट्रोनिक्स, हाइटेक एन्ड प्लास्मा एन्ड पावर प्लान्टस इन्जिनियरिङ, बिटेक नोवेल आर्किटेक्चर एन्ड सिप बिल्डिङ, ब्याचरर्स अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनरी जस्ता विषय अध्ययनका लागि अनुमति पाइसकेको छ।
परिषद्का अनुसार नेपालमा सिभिल एभिएसन अपरेसन तथा इञ्जिनियरिङ म्यानुफ्याक्चरिङ साइन्स एन्ड इञ्जिनियरिङ, मेट्रोलोजी, साउन्ड एन्ड भिडियो, ब्याचलर अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनोरी, लजिस्टिक इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ जस्ता विषय नेपालमा थप गर्न आवश्यक छ।
लागत खर्च
इन्जिनियरिङ शिक्षण संस्थामा शुल्क महँगो हुने भएकाले छात्रवृत्तिमा नाम निकाल्न विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा हुन्छ। सीमित सिट हुने भएकाले सबै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउँदैनन्। स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न ८ सेमेस्टर (४ वर्ष) का लागि ८ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ। इन्जिनियरिङका लागि हरेक वर्ष थुप्रै नेपाली विद्यार्थी भारत जाने गरेका छन्। भारतमा २० लाख रुपैयाँसम्म खर्च हुने गरेको त्यहाँ अध्ययन गरी फर्किएकाहरू बताउँछन्।
कुन विषयमा कति सिट?
परिषद्ले सिभिल इन्जिनियरिङतर्फ ४ हजार ४१६ सिट संख्या निर्धारण गरेको छ। इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ५ सय ३२, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका लागि १ हजार ३९४, मेकानिकल इन्जिनियरिङका लागि ३६० सिट छुट्याइएको छ।
केमिकल इन्जिनियरिङमा ३०, कम्प्युटर इन्जिनियरिङमा २ हजार १४०, इन्भ्यारोमेन्टल इन्जिनियरिङका लागि ३५, एग्रिकल्चर इन्जिनियरिङका लागि २४, आर्किटेक्चरतर्फ ६१० सिट संख्या कायम गरिएको छ। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ३ सय, बायोमेडिकल इन्जिनियरिङतर्फ ९६, सफ्टवेयर इन्जिनियरिङतर्फ १९२, बीईआईटीमा ४३२, इन्डस्ट्रियल इन्जिनियरिङतर्फ ४८, जियोमेटिक्स इन्जिनियरिङतर्फ १४८, सिभिल एन्ड रुलर इन्जिनियरिङमा ९६ सिट संख्या निर्धारण गरेको छ।
यसैगरी अटोमोबाइल इन्जिनियरिङमा ९६, एरोस्पेस इन्जिनियरिङतर्फ ४८ लगायत २२ वटा विषयमा नेपालभरका शिक्षण संस्थामा करिब १२ हजार सिट संख्या कायम गरिएको परिषद्ले जनाएको छ। नेपालमा रहेका ५० वटा इन्जिनियरिङ क्याम्पसमध्ये काठमाडौँ उपत्यकामा ३० वटा छन्।
परिषद्ले नेपालबाहेक ४४ देशका ८ सय ४ वटा विश्वविद्यालयमा अध्ययन गर्न पाइने अनुमति दिएको छ। सबैभन्दा बढी भारतमा ३ सय १४, चीनका ५८, रुसका ३९, अमेरिकाको ७२, बेलायतका २५, जापानका १२, अस्ट्रेलियाका १६ विश्विद्यालय÷शिक्षण संस्थालाई परिषद्ले दर्ता अनुमति दिएको छ।
विदेशमा आकर्षण
अधिकांश इन्जिनियरमा विदेश मोह छ। नेपालमा इन्जिनियरिङ पढाइ सक्ने थुप्रै इन्जिनियरहरू पनि विदेशिने गरेका छन्। प्राज्ञिक र पेसागत अवसर राम्रो हुने भएकाले पनि इन्जिनियरहरूमा विदेश मोह भएको जानकारहरू बताउँछन्। विदेशमा इन्जिनियरको माग र आम्दानी नेपालको तुलनामा राम्रो हुने भनिन्छ।
सबल आर्थिक हैसियत भएकाहरु युरोपेली देश, क्यानाडा, अस्ट्रेलिया, अमेरिकाजस्ता देशमा जान चाहने शैक्षिक परामर्शदाताहरू बताउँछन्। यद्यपि राम्रो आम्दानी हुने भएकाले खाडी राष्ट्र र मलेसियामा जाने इन्जिनियरको संख्या पनि उतिकै छ। नेपाली इन्जिनियरलाई नेपालमा नै आकर्षण गर्न नसक्दा बजारमा दक्ष इन्जिनियरको अभाव हुने गरेको छ।