काठमाडौँ- इन्जिनियरिङ शिक्षा र पेसालाई व्यवस्थित गराउन नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स परीक्षाको सुरुवात गरेको छ। इन्जनियरिङ शिक्षा आर्जन गरेका जनशक्ती विदेश पलायन हुने क्रम जारी छ। नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तरमा नै प्रश्न उठाउँदै कक्षा १२ पछि विद्यार्थी विदेश अध्ययनमा गएको अवस्था छ। इन्जिनियरिङ शिक्षा तर्फ विश्वविद्यायले लिने प्रवेश परीक्षा, शिक्षाको गुणस्तर, अनुगमन र नियमन, परिषद्ले सञ्चालन गर्ने लाइसेन्स परीक्षाको कमजोर नतिजा लगायतका विषयमा परिषद्का अध्यक्ष डा. पदम बहादुर शाहिसँग गरिएको कुराकानीको मुख्य अंश।
नेपालको इन्जिनियरिङ शिक्षा र पेसालाई व्यवस्थित गर्न परिषद्ले के - कस्ता काम गर्दै आएको छ?
इन्जिनियरिङ परिषद्ले यस व्यवसायलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन पहल गर्दै आएको छ। परिषद्ले इन्जिनियरिङ शिक्षातर्फ विश्वविद्यालयले दिने सम्बन्धन र पठनपाठनको क्रियाकलापलाई अनुगमन र नियमन गर्ने काम गरेको छ। इन्जिनियरिङ शिक्षाको अन्तर्राष्ट्रिय मान्यतालाई बढाउन हामीले अन्तर्राष्ट्रिय फोरममा पहल पनि गरेका छौँ। इन्जिनियरिङ परिषद्ले नेपाल इन्जिनियरिङ शिक्षालाई वासिङटन एकर्डमा मेम्बर बनाएर नेपालको शिक्षालाई विश्वभर मान्यता दिने पहल थालेको छ।
नेपाल इन्जिनियरिङ परिषद्को मुख्य उद्देश्य भनेको गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गरी विद्यार्थीहरूको शैक्षिक अवधि पश्चात् पनि कानुनि प्रकिया पुरा गरी लाईसेन्स प्रदान गरेर काम गर्न योग्य प्रमाणित गर्ने हो। नेपाल इन्जिनियरिङ परिषद्ले क्याम्पसहरूलाई विषय छनोट गर्ने अधिकार दिनुको साथै स्थापना पश्चात् गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्दछ भनि ऐनको मनन गर्दै विश्वविद्यालयलाई गुणस्तरमा सम्झौता नगर्न चेतावनी समेत दिँदै आएको छ।
इन्जिनियर पढाइमात्र नभएर प्रयोगात्मक शिक्षा पनि हो। यसका लागि लगानी पनि सामान्य विषयको तुलनामा बढी लाग्ने भएकाले पनि त्यसको प्रभावकारी कार्यान्वनको विषयलाई जोड दिदैँ आएका छौँ। इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थी एंव अभिभावकहरूको आकर्षण बढाउन परिषद्ले भूमिका निर्वाह गर्दै आएको छ।
नेपालमा इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थी संख्या कम हुनुको कारण के होला?
इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमि आएको छ। विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षामा विद्यार्थीको संख्या घटेको छ। कक्षा १२ उत्तीर्ण गर्ने वित्तिकै विद्यार्थी विदेशमा पढ्न गएका छन्। प्रवेश परीक्षामा सहभागी हुने ९ हजार जना विद्यार्थीमा ६ हजार मात्र उत्तीर्ण भएका छन्। यस वर्ष एसईई दिने विद्यार्थी नै ५२ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। आधा भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् जसले गर्दा उच्च शिक्षा तर्फ समग्र रुपमा नै विद्यार्थी संख्या कम हुने देखिन्छ। इन्जिनियरिङमा मात्र विद्यार्थीको भिड खोजेर हँुदैन, मुल नै सुकेपछि पानीको खोजि गर्नु मुर्खता हो।
इन्जिनियरिङ शिक्षा आर्जन गर्न नेपाली विद्यार्थी विदेशिनुको कारण के देख्नुहुन्छ?
नेपाल इन्जिनियरिङ परिषद्ले नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा अध्यापन हुन्छ भनेकै भरमा विद्यार्थी नेपालमा बस्ने अवस्था छैन। विद्यार्थीले नेपालमा अध्ययन पश्चात् अवसर नपाएर नै विदेश जान बाध्य भएका हुन्। नेपालमा इन्जिनियरिङ क्षेत्रमा अवसरको कमिको कारण विद्यार्थी मात्र नभई शिक्षक तथा कर्मचारीले नै वैदेशिक यात्रा तय गर्न थालेका छन्।
नेपालको तीन तहका सरकारले इन्जिनियरिङ पेसालाई बढाउन भूमिका खेल्नुपर्छ। नेपालका कतिपय गाउँपालिका तथा नगरपालिकाहरूमा २० वर्ष पुरानो इन्जिनियरले नै काम गरिरहेका छन् जहाँ नयाँ इन्जिनियर युवाको खाँचो छ। नेपालको सन्दर्भमा योग्यता भएका इन्जिनियरहरू बेरोजगार भएर बस्न परेको छ तर कतिपय गाउँपालिका तथा नगरपालिकाहरूमा १५ जना इन्जिनियरको कामको जिम्मा एक जनालाई मात्र थमाइएको छ। जति इन्जिनियरिङ पेसाको स्पेसलाइज हुनुपर्ने हो,त्यो लेभलको नेपालमा हुन नसकेको कारण विद्यार्थीहरू विदेश जान बाध्य भएका हुँन्।
नेपालमा इन्जिनियरिङ शिक्षालाई सुधार गर्न के गर्र्नुपर्छ?
सुधार भनेको एउटा चलिरहने प्रक्रिया हो जुन निरन्तर मात्रामा चलिरहनु पर्दछ र नेपालमा इन्जिनियरिङ शिक्षा सुधारको लागि फिल्ड तय गरी विद्यार्थीहरूलाई शैक्षिक विद्यालयको अध्ययनलाई मात्र जोड नदिई बाहिरी संसारमा प्रयोगात्मक कामलाई देखाउन सक्नुपर्दछ। हाम्रो पाठ्यक्रम विश्वका अन्य मुलुकको तुलनामा कमजोर छैन भन्ने अनुभूति विद्यार्थीलाई दिलाउन सक्नुपर्छ।
नेपाली शिक्षणसंस्थाको शैक्षिक गुणस्तर कमजोर हुँदा विद्यार्थीको आकर्षण घटेको हो?
नेपालबाट विद्यार्थी विदेशमा इन्जिनियरिङ शिक्षा आर्जन गर्न जाने गरेका छन्। नयाँ विषय अध्ययन गर्न जानु राम्रो हो। यहाँको शैक्षिक गुणस्तर कमजोर भएर विदेशिएको भन्ने होइन। यहाँ पढाइ हुने विषय नै अध्ययन गर्न विद्यार्थी विदेशिनु भनेको राज्यलाई नै घाटा हो। विद्यार्थीलाई नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न हामीले पहल गरेका छौँ। राज्यले पनि यस तर्फ जोड दिनुपर्छ। हामीले गुणस्तरीय शिक्षामा मात्रै जोड नदिएर त्यसपछि रोजगारीको अवसर सृजना गर्ने विषयमा जोड दिनुपर्छ।
नेपालमा इन्जिनियरिङ शिक्षामा यो अवस्था आउदै गर्दा नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ?
नेपालमा रोजगारीको अवसर सृजना गरेर सरकारले इन्जिनियरहरूलाई अपग्रेड गर्न जरुरी छ। शिक्षालाई आवश्यकताको आधारमा अघि बढाउनुपर्ने हुन्छ। अध्ययन पश्चात पनि दक्ष जनशक्ती विदेशीनु भनेको हाम्रो जस्तो विकासोन्मुख देशका लागि ठूलो नोक्सानि हो। यहाँ रोजगारी सृजना गर्नुको विकल्प छैन। काउन्सिलले यस विषयमा सरकारको पनि ध्यानाकर्षण गराउँदै आएको छ। परिषद्ले गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिएर दक्ष जनशक्ती उत्पादन गर्ने विषयमा जिम्मेवार पूर्वक आफ्नो भूमिका निर्वाह गर्छ त्यसै गरी नेपाल सरकारले पनि ध्यान दिन जरुरी छ।
कक्षा १२ उत्तीर्ण गरेर इन्जिनियरिङ शिक्षातर्फ आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीलाई के भन्नुहुन्छ?
परिषद्ले गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिएर दक्ष जनशक्ती उत्पादन गर्ने विषयमा जिम्मेवार पूर्वक आफ्नो भूमिका निर्वाह गर्छ। विश्वविद्यालय शिक्षातर्फ जनशक्तीको माग भएको विषय हो। विभिन्न विधामा अध्ययन पश्चात रोजगारीका अवसर छन्। विश्वविद्यालयले छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ। यो पेसालाई मर्यादित बनाउन हामीले नियमन गर्ने भएकाले यसतर्फ लाग्ने व्यक्तीको भविष्य सुनिश्चित नै छ।