काठमाडाैँ - चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प २०२५’ सुरु भएको छ। चार दिनसम्म चल्ने बुटक्याम्पको विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले शुभारम्भ गरिन्।
बुटक्याम्पका लागि कुल ३९ टिमहरूले आवेदन दिएकोमा २० टिम छनोट छनिएका थिए। प्रत्येक टिममा ३ देखि ६ जना विद्यार्थीहरूका दरले ८४ जना विद्यार्थीहरू सहभागी छन्। तर, हरेक टिमबाट २ जना प्रतिनिधिहरुले प्रशिक्षण लिने र उनीहरुले सिकेको ज्ञानका आधारमा अरु विद्यार्थीहरुलाई पनि उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा विश्वविद्यालयले गरेको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईले जानकारी दिए।
डा.भट्टराईका अनुसार बुटक्याम्पको उद्देश्य विद्यार्थीहरूमा उद्यमशील सोचको विकास गर्नुका साथै कृषि व्यवसायका अवसर तथा चुनौतीहरू बुझाउँदै व्यवहारिक योजना बनाउने क्षमताको विकास गरी भविष्यमा सफल उद्यमी बन्न दिशा देखाउने रहेको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले विश्वविद्यालय स्थापना कालदेखि नै यस्ता सिर्जनात्मक कार्यक्रमहरु अगाडि बढाउने सोच राखिएको भए पनि अहिले आएर विस्तारै कार्यान्वयन हुँदै गएकोमा खुसी व्यक्त गरिन्। उनले बुटक्याम्पको महत्व, दीर्घकालीन सोच, आत्मनिर्भरता र युवा उद्यमशीलता विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताइन्।
बुटक्याम्पमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना विज्ञ प्रशिक्षकहरूको प्रशिक्षण दिने छ। विभिन्न क्षेत्रमा स्थापित उद्यमी, बैंकका प्रतिनिधि, कर अधिकृत, विश्वविद्यालयका प्राध्यापक, खाद्य प्रविधिका विशेषज्ञ, उद्योगी व्यवसायी, चार्टर्ड एकाउनटेन्ट, कर प्रणाली विशेषज्ञ तथा यूवा उद्यमी जस्ता अनुभवी व्यक्तिहरूले उद्यमशील बन्न गर्नुपर्ने काम र सोचहरुको बारेमा जानकारी गराउनेछन्।
व्यवसायिक सोच निर्माण र क्षेत्र, सम्भाव्यता अध्ययन, बजारीकरण रणनीति, कर तथा बैंक प्रक्रिया र योजना प्रस्तुतिका सीपहरू सहभागीहरुले सिक्नेछन्।