काठमाडाैँ - धनकुटा नगरपालिका वडा नं ६ आत्मारामा रहेको आत्मारा प्राथमिक विद्यालय विद्यार्थी छैनन्। यहाँ कागजी रूपमा सात जना विद्यार्थी भए पनि विद्यालयमा भने शून्य विद्यार्थी छन्।
विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेका छन् तर बालबालिकालाई विद्यालयमा भर्ना गराउन उनिहरूको भूमिका शून्य भएकाले विद्यालयको हालत यस्तो भएको स्थानीय माधवप्रसाद पोख्रेलले बताए। 'गाउँका बालबालिकालाई विद्यालयसम्म ल्याउन शिक्षकले योजना बनाउनुपर्छ।' उनले भने।
विद्यार्थी नहुँदा विद्यालय क्षेत्र जङ्गल जस्तै बनेको छ। विद्यालय वरिपरि सिरु काँस फुलेर सेतै देखिएको छ भने घाँसले घेरिएको छ। बस्ती नजिकै भए पनि अभिभावक सो विद्यालयमा जानै पनि डराउँछन्। मजदुरका छोराछोरी भएकाले हम्मेसि विद्यार्थी नआउने प्रधानाध्यापक विनय राईको तर्क छ।
विद्यार्थी नभए पनि पछिल्लो एक वर्षमा सो विद्यालयका प्रधानाध्यापक सहितका तीन जना कर्मचारीले ९ लाख १९ हजार ९ सय १४ रुपैयाँ खर्च भइसकेको छ। अहिले पालिकाभित्रका विद्यालयहरूको सम्पूर्ण रेखदेख, अनुगमन र शिक्षक दरबन्दी मिलानसम्मको अधिकार स्थानीय सरकारलाई छ। स्थानीय सरकार बेखबर छ।
विद्यालयको अनुगमन नगरेपछि यस्तो किन भएको भन्ने प्रश्नमा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल चासो देखाउने बताए। उनले अघिल्ला बर्सहरूमा अनुगमनमा जाँदा १० देखि १२ वटा विद्यालयमा विद्यार्थी विहीन भेटिएकाे बताए।
त्यसो त सदरमुकाम भित्रैका अन्य सामुदायिक विद्यालयका अवस्थामा उस्तै छ। धनकुटा सदरमुकामको टेकुनाला, याक्ते प्राथमिक विद्यालय, सिंहदेवी आधारभूत विद्यालय धनपा ६, खाल्डे लगायतका प्राथमिक विद्यालयहरूमा पनि विद्यार्थी न्यून छन्।
अन्य विद्यालय सँग मर्ज गरिदिए सहज हुने उक्त आत्मारा प्राथमिक विद्यालयका प्रधानाध्यापक विनय राइले बताए।
उनका अनुसार १ कक्षाामा ३ जना कहिलेकाहीँ मात्र आउने गरेको, कक्षा २ मा ३ जना आउँदै गरेकोमा हाल १ जना आउने कहिले नआउने, कक्षा ३ मा २ जना कहिले काहीँ १ जना आउने गरेको भनिए पनि विद्यालयमा गएर हेर्दा विद्यार्थी विहीन देखिएको छ।