काठमाडाैँ - पोखरा बहुमुखी क्याम्पसले शैक्षिक उत्कृष्टताको प्रतीक मानिने ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा तोकिएका विविध मापदण्ड सफलतापूर्वक पूरा गर्दै औपचारिक रूपमा क्यूएए मान्यता प्राप्त गरेको हो।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले यो उपलब्धिलाई शिक्षा सुधारको यात्रका क्रममा एक महत्त्वपूर्ण मोडको रूपमा लिएकी छन्। ‘क्यूएए प्रमाणपत्रले हाम्रो क्याम्पसलाई अझ पारदर्शी, उत्तरदायी र सक्षम बनाउन उत्प्रेरित गरेको छ,’ उनले भनिन्, ‘तर यो अन्तिम गन्तव्य होइन, निरन्तर सुधार र प्रतिस्पर्धी क्षमताको आधार हो।’ उनले क्याम्पसको यो उपलब्धि सामूहिक प्रयास र दूरदर्शी योजनाको परिणाम भएको बताइन्।
२०४४ मंसिर १४ मा पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविको भवनमा स्थापना भएको क्याम्पस अहिले आफ्नै परिसर पोखरा ९ शान्तिवनमा सञ्चालनमा छ। स्थापनाको प्रारम्भिक चरणमा महेन्द्र मावि, नयाँबजारको भवन प्रयोगमा ल्याइएको थियो। क्याम्पस भवन निर्माणका लागि तत्कालीन सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनको ५० लाख रुपैयाँ सहयोग निर्णायक बनेको थियो। पोखरा महानगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएको र निजी क्षेत्रका सहयोगदाताको चन्दा तथा जनसहयोगमा आजको भौतिक पूर्वाधार निर्माण भएको हो।
आन्तरिक गुणस्तर सुनिश्चितता समिति संयोजक प्राध्यापक महेन्द्र रिमालका अनुसार पछिल्ला वर्षमा क्याम्पसको पूर्वाधार, प्रशासनिक संरचना, शैक्षिक उत्कृष्टता र वित्तीय पारदर्शितामा उल्लेखनीय सुधार हुँदै आएको छ। यही क्रमको मूल्यांकनस्वरूप क्याम्पसले क्यूएए प्रक्रिया सफलतापूर्वक पूरा गर्न सक्षम भएको उनले बताए। क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘क्यूएए प्रमाणपत्र प्राप्त भएपछि यहाँ अध्ययन गर्ने विद्यार्थीको प्रमाणपत्रलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयले समेत मान्यता दिनेछन्, जुन क्याम्पसकै शैक्षिक प्रतिष्ठाको सूचक हो।’
हाल क्याम्पसमा स्नातक तहमा मानविकी तथा व्यवस्थापन संकायका कार्यक्रम सञ्चालनमा छन्। करिब ५ सय विद्यार्थी अध्ययनरत क्याम्पसले आगामी दिनमा बीबीए, बीआईएम, बीआईटीजस्ता कार्यक्रम थप गर्ने योजना अगाडि सारेको छ।
क्याम्पस प्रमुख पराजुलीले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने दीर्घकालीन योजना रहेको बताइन्। व्यावहारिक शिक्षा र जीवनोपयोगी सीपको अभिवृद्धिका लागि क्याम्पसले विविध नन–क्रेडिट कोर्सहरू सञ्चालन गर्दै आएको जानकारी प्राध्यापक रिमालले दिए। उनले भने, ‘शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्त्व दिइएको छ।’
क्याम्पसले वातावरणीय संरक्षण, लैंगिक समानता, साइबर सुरक्षाको सचेतना, मानसिक स्वास्थ्य, महिला सशक्तीकरण, जीवन सीप, आत्मनिर्भरता, नेतृत्व विकास र वन संरक्षणजस्ता क्षेक्रमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ।