काठमाडौँ- वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या तत्काल समाधान गर्न सरकारसँग विशेष पहलको माग गरेका छन्।
२४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेका हुन्। उनीहरूले मन्त्रालयका उच्च अधिकारीसमक्ष कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्नुपरेका समस्या र आफ्ना माग प्रस्तुत गरेका छन्।
मन्त्रालयमा भएको छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टर सहभागी थिए। उनीहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीमाथि अनावश्यक दबाब र मानसिक तनाव सिर्जना गरिएको आरोप लगाउँदै अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको गुनासो गरेका छन्।
रेजिडेन्ट डाक्टरहरूले कलेजमा शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरण निर्माण गरी आफूहरूलाई पुनः अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन्। समस्या समाधान नभएसम्म कलेजमा फर्किएर अध्ययन गर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।
छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। आफूहरू सरकारप्रति आशावादी रहेकाले समस्या समाधानका लागि मन्त्रालयसम्म आएको रेजिडेन्ट डाक्टरहरूले बताएका छन्।
‘यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,’ उनीहरूले मन्त्रालयका अधिकारीसमक्ष बताएका थिए।
रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन्। त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
मन्त्रालयले रेजिडेन्ट डाक्टरहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले विद्यार्थीबाटै वास्तविक समस्या सुनेर समाधानका लागि सरकारले गर्न सक्ने पहलका विषयमा छलफल गरिएको बताए।
उनले सरकार विषयमा गम्भीर रहेको बताउँदै समस्या छिटो समाधान गर्ने आश्वासन दिएका छन्। ‘यो विषयमा सरकार गम्भीर छ। शिक्षामन्त्रीज्यूले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ। तपाईंहरू आशा लिएर जानुस्, हामी यथाशीघ्र यसलाई सम्बोधन गर्छौँ,’ झाले भने।
कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
यसैबीच, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि रेजिडेन्ट डाक्टरहरूले उठाएका समस्याप्रति आयोग गम्भीर रहेको बताएका छन्। उनले समस्या समाधानका लागि आयोगका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
आन्दोलनरत रेजिडेन्ट डाक्टरहरूले भने सरकारको पहलबाट आफ्ना माग सम्बोधन हुने र कलेजमा पुनः शान्तिपूर्ण तथा सुरक्षित वातावरणमा अध्ययन गर्ने अवस्था बन्ने अपेक्षा गरेका छन्। समस्या समाधानमा ठोस पहल नभए आन्दोलनलाई निरन्तरता दिने उनीहरूको संकेत छ।