काठमाडौँ- वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर तह (पीजी) का विद्यार्थीहरूको आन्दोलन, कलेजको शैक्षिक गतिविधि तथा कथित अनियमितताबारे सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अन्सारीले करिब १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको भन्दै उनीहरूको समस्या तत्काल समाधान गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग आग्रह गरे।
अन्सारीका अनुसार विद्यार्थीहरूलाई होस्टेल खाली गर्न दबाब दिइएको, अस्पतालमा काम गर्न रोक लगाइएको र कलेज प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ। उनले विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताबारे आवाज उठाएपछि यस्तो अवस्था सिर्जना भएको दाबी गरे।
सांसद अन्सारीले कलेजले पीजी सिटका लागि करिब २५ जना काम नगर्ने वा नक्कली प्राध्यापक देखाएको आरोपसमेत लगाए। चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा वास्तविक बिरामीको सट्टा सुरक्षा गार्डलाई बिरामी बनाएर अस्पतालको इमर्जेन्सीमा राखिएको दाबी पनि उनले संसदमा गरे।
उनले विगतमा राजनीतिक पहुँचका कारण कलेजमाथि आवश्यक कारबाही हुन नसकेको आरोप लगाए। चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय तथा स्थानीय प्रशासनसमेत कलेज व्यवस्थापनको प्रभावमा परेको दाबी गर्दै उनले यस विषयमा राज्यका सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
अन्सारीले कलेजमा परीक्षासँग सम्बन्धित आर्थिक लेनदेन हुने गरेको आरोप पनि लगाए। उनका अनुसार नेपाली विद्यार्थीबाट एउटा विषयमा उत्तीर्ण गराउन तीन लाख रुपैयाँ र विदेशी विद्यार्थीबाट पाँच लाख रुपैयाँसम्म लिने गरिएको तथा उत्तरपुस्तिकामा उत्तर लेखेर पास गराउनेजस्ता गतिविधि भइरहेको दाबी विद्यार्थीहरूले गरेको बताए।
उनले यी आरोपहरू कुनै एउटा शिक्षण संस्थामाथिको विषय मात्र नभई मेडिकल शिक्षाको गुणस्तर र राज्यको नियमन प्रणालीसँग जोडिएको विषय भएको बताए। मेडिकल शिक्षामा हुने अनियमितताको प्रत्यक्ष असर भविष्यमा बिरामीको उपचार र स्वास्थ्य सुरक्षामा पर्न सक्ने भन्दै उनले सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा पर्न नदिन सरकारले तत्काल छानबिन गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने अन्सारीको माग छ। यदि कलेजमा अध्ययन निरन्तर गर्न सक्ने अवस्था नरहेको पुष्टि भएमा सम्बन्धित विद्यार्थीलाई अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे।
अन्सारीले शिक्षा तथा खेलकुदमन्त्री पोखरेललाई यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्न आग्रह गर्दै विद्यार्थीहरूको समस्या समाधानका लागि राज्यले जिम्मेवारी लिनुपर्ने बताए।
उनले मेडिकल शिक्षामा हुने कमजोरीले भविष्यमा बिरामीको उपचारमा गम्भीर त्रुटि निम्त्याउन सक्ने चेतावनीसमेत दिए। नेशनल मेडिकल कलेजसम्बन्धी उठेका आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ।