काठमाडौँ- ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले ‘क्लास अफ २०२६’ का विद्यार्थीहरूको उपलब्धि उत्सवका रूपमा संयुक्त दीक्षान्त समारोह आयोजना गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा समूहअन्तर्गतका चारवटै संस्थाका स्नातक, अभिभावक, प्राध्यापक तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
द ब्रिटिस कलेज (टीबीसी) को १२औँ दीक्षान्त समारोहलाई समूहस्तरीय उत्सवका रूपमा आयोजना गरिएको थियो। समारोहमा द ब्रिटिस कलेज, ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थीहरू सहभागी भएका थिए।
समारोहमा व्यवसाय, कम्प्युटिङ, सूचना प्रविधि तथा लेखालगायत विभिन्न विषयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई उपाधि तथा योग्यता प्रदान गरिएको थियो। कार्यक्रममा एक्जिक्युटिभ एमबीए, एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, एमएससी प्रोफेसनल एकाउन्टेन्सी, एसीसीए, बीबीए, बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स तथा ए लेभलका विद्यार्थी सहभागी थिए।
विद्यार्थीहरूले समूहका अन्तर्राष्ट्रिय शैक्षिक साझेदार लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड (यूडब्ल्यूई), कील युनिभर्सिटी, युनिभर्सिटी अफ लन्डन, एसीसीए र क्याम्ब्रिज इन्टरनेसनलबाट उपाधि तथा योग्यता प्राप्त गरेका हुन्।
स्नातक विद्यार्थीहरूको शैक्षिक जुलुसबाट सुरु भएको समारोहमा नेपाल र बेलायतको राष्ट्रगान प्रस्तुत गरिएको थियो। त्यसपछि ब्रिटिस एजुकेसन ग्रुपका ग्रुप सीईओ राजेन कंडेलले परम्परागत पानस बालेर समारोहको औपचारिक उद्घाटन गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै सीईओ कंडेलले ‘क्लास अफ २०२६’ ब्रिटिस एजुकेसन ग्रुपको फराकिलो अल्युम्नाइ सञ्जालको हिस्सा बनेको बताए। उनले थप अध्ययन, व्यावसायिक करिअर तथा नयाँ अवसरतर्फ अघि बढे पनि कलेज र समूहसँग निरन्तर जोडिइरहन स्नातकहरूलाई आग्रह गरे।
उनले विद्यार्थीहरूको निरन्तर मेहनत तथा उनीहरूको सफलतामा परिवार र प्राध्यापकहरूले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे। कार्यक्रममा द ब्रिटिस कलेजका सल्लाहकार पल क्लिभ्स एमबीई तथा बेलायतस्थित भुटानका प्रथम मानार्थ महावाणिज्यदूत एवं टीबीसीका पूर्व सल्लाहकार माइकल रटल्यान्ड ओबीईले स्नातक विद्यार्थीहरूलाई शैक्षिक तथा व्यावसायिक जीवनको सफलताको शुभकामना दिएका थिए।
त्यस्तै, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रवक्ता डेभ चेस्ली समारोहमा सहभागी भएका थिए। युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका उपकुलपति प्रोफेसर स्टिभ वेस्ट सीबीई, कील युनिभर्सिटीका उपकुलपति प्रोफेसर केभिन शेकशेफ तथा युनिभर्सिटी अफ लन्डनका साइमन क्लियरीले भिडियो सन्देशमार्फत स्नातक विद्यार्थीहरूलाई बधाई दिएका थिए।
समारोहमा शैक्षिक उपाधि वितरणसँगै उत्कृष्ट विद्यार्थीहरूलाई ‘एक्सलेन्स अवार्ड्स’ समेत प्रदान गरिएको थियो। विभिन्न शैक्षिक कार्यक्रमका विद्यार्थी प्रतिनिधिहरूले आफ्नो अध्ययन अनुभव तथा स्नातकसम्मको यात्राबारे धारणा राखेका थिए।
द ब्रिटिस कलेजका कन्ट्री डाइरेक्टर अरुण कंडेलको धन्यवाद ज्ञापनसँगै समारोहको औपचारिक समापन गरिएको थियो।