काठमाडाैँ - चाँगुनारायण ८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी गोमा श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा ४ जिपिएसहित उत्तीर्ण भएकी छिन्। सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए हासिल गरेकी गोमा भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक हुन्।
परिवारको आर्थिक अवस्था कमजोर भएता पनि छोरीकाे पढाइप्रतिको रुचिका कारण स्थानीय किसानको मेला गएर पनि छोरी पढाएकाे गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए। इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा नतिजा प्रकाशनकाे दिन पनि स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।
'एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै। त्यो बेला गोमा चार वर्षकी थिइन्,' मीनबहादुरले भने, 'रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो।'
भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए। 'खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो। यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ। भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ।' दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन्। दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो। त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग यही रुटिनमा दैनिकी बिताइन्।
कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्। 'बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो। एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो। त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ। यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,' गाेमाले भनिन्।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन्। तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन्। 'विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्ने लक्ष्य छ। एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो। यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ। सोही अनुसार तयारी गर्छु,' उनले बताइन्।