काठमाडौँ - आफूले पढाएको विद्यार्थी मन्त्री वनेपछि शिक्षक उनलाई भेट्न मन्त्रालय पुगेका छन्। प्रशंग हो वर्तमान सरकारमा महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी सिता वादी र उनका शिक्षक निर्मल अर्यालको।
सिताले काठमाडौँको जोरपाटीमा रहेको चामुण्डा माध्यामीक विद्यालयमा पढेकी थिइन्। वादी मन्त्री भएपछि उनलाई भेटेर आफूले वधाइ दिएको शिक्षक अर्यालले बताए। एक शिक्षकलाई यो जत्तिको खुशीको क्षण अरु के हुन सक्छ र उनले भने। शिक्षक अर्यालले आफूले मन्त्री वादीलाई जनआकंक्षा अनुसार देश र जनताको सर्वोपरी हितहुने गरि काम गर्न मन्त्री वादीलाई अन्तरमनदेखि शुभकामना दिएको बताए।
सितालाई दलित महिला क्लस्टरबाट रास्वपाले समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाएर संसद्मा पुर्याएको थियो। २०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर–११ झुप्रा खोलामा जन्मिएकी सीताका बाआमालाई सरकारी स्कुलमै पढाउन पनि सहज थिएन। त्यहीबीचमा ‘लाइट हार्ट’ नामक गैरसरकारी संस्थाको सहयोगमा डेढ दशकअघि १२ वर्षको उमेरमा उनी पढ्नका लागि घरपरिवार छाडेर काठमाडौं आइन्।
उनी सँगै सोही बस्तीका अन्य बालबालिकाहरू पनि साथमा थिए। उक्त संस्थाले पढ्ने व्यवस्था मिलाइदियो। त्यही संस्थामै बसेर पढिन् । १० कक्षा सकेपछि सीताले सोही संस्थाको कार्यालयमै काम सुरु गरिन् ।
त्यहीबाटै स्नातक सम्मको पढाइ सकेपछि भने बाहिरका कामहरू गर्दै स्वतन्त्र रूपमा बस्न थालिन्। उनी पहिलो पटक यो समुदायवाट मन्त्री बनेकी हुन्।
पश्चिम नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वादीहरूको बस्ती छ।कर्णालीको दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट र रुकुमपश्चिम, सुदूरपश्चिमको अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली र कञ्चनपुर, लुम्बिनी प्रदेशको रोल्पा, रुकुमपूर्व, बाँके, बर्दिया, प्युठान र दाङमा धेरै वादीको बस्ती छ। गण्डकी प्रदेशको कास्की र बागलुङमा पनि बादी छन्।
तर, अन्य जिल्लाको तुलना कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वादी समुदायको बाहुल्यता रहेको छ। २०६८ सालको जनगणनाअनुसार वादी समुदायको जनसंख्या ३८ हजार ६०३ छ। जसमध्ये १८ हजार २९८ पुरुष छन् भने २० हजार ३०५ महिला छन्।