इटहरी - पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा, रुखमा अड्याइएको एउटा सानो बोर्ड-‘श्री पिपलबोटे खुला विद्यालय’। कुनै औपचारिक भवन, डेस्क–बेन्च वा सुविधा नभए पनि यहाँ हरेक बिहान ७ बजे ३०-३५ जना बालबालिका किताब, कापी र कलम बोकेर सिक्न आइपुग्छन्।
इटहरीको व्यस्त पूर्व–पश्चिम राजमार्ग नजिकै टेङ्ग्रा खोलाको किनारमा सञ्चालन भइरहेको यो अनौपचारिक विद्यालयका गुरु हुन्-चन्द्र भण्डारी, जसलाई सबैले ‘चन्द्र सर’ भनेर चिन्ने गर्छन्। उनी बालबालिकालाई विद्यालयमा नबुझेका पाठ बुझाउँछन्, गृहकार्य गराउँछन् र आधारभूत शिक्षा सुदृढ बनाउन सहयोग गर्छन्।
तीन दशकभन्दा बढी समयदेखि निरन्तर सञ्चालनमा रहेको यो ‘पिपलबोटे खुला विद्यालय’ कुनै सरकारी दर्ता भएको संस्था होइन। यो त केवल चन्द्र भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समाजसेवाप्रतिको समर्पणको परिणाम हो। विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा दिनु उनको जीवनको उद्देश्य बनेको छ।
संघर्षबाट जन्मिएको सेवा
धनकुटाको कागते-६ मा २०२२ सालमा जन्मिएका चन्द्र भण्डारी सामान्य परिवारमा हुर्किए। बाल्यकालमै अभाव र संघर्ष झेलेका उनले आर्थिक समस्याका कारण पढाइ पूरा गर्न सकेनन्। २०४४ सालमा आमाबाट ५० रुपैयाँ लिएर रोजगारीको खोजीमा इटहरी झरेका उनी सुरुमा ग्यारेजमा काम गरे।
पछि कपडा व्यापार र त्यसपछि बाँसको व्यापार थाले। २०५१ सालदेखि टेङ्ग्राखोला नजिकै बाँस बेच्दै आएका उनले त्यही क्रममा सडकछेउमा खेलिरहेका स्कुल उमेरका बालबालिका देखे। ती बालबालिकाको अवस्थाले उनलाई आफ्नो अधुरो बाल्यकाल सम्झायो।
'गरिबीले पढ्न नपाएको पीडा सम्झेर मैले ती बालबालिकालाई भेला गरेर पढाउने निर्णय गरेँ,' भण्डारी भन्छन्।
सुरुमा १० जना बालबालिकाबाट सुरु गरिएको ट्युसन विस्तारै बढ्दै गयो। बिहान–बेलुका कक्षा सञ्चालन हुन थाल्यो र विद्यार्थी संख्या ४०-५० सम्म पुग्यो।
खुला आकाशमुनि निरन्तर सिकाइ
पहिला सानो टहरोमा सञ्चालन भएको कक्षा २०६० सालमा टहरो भत्किएपछि खुला आकाशमुनि सरेको हो। त्यसयता बालबालिकाले बोरा बिछ्याएरै पढ्न थालेका छन्।
बर्खाको बाढी, हिउँदको चिसो वा अन्य कठिनाइ-कुनै पनि परिस्थितिले चन्द्र सरको कक्षा रोकिएको छैन। कोभिड-१९ महामारीका बेला समेत उनले अनलाइन कक्षा सञ्चालन गरेर शिक्षालाई निरन्तरता दिए।
हाल दैनिक ३०-३५ जना बालबालिका नियमित रूपमा यहाँ अध्ययन गर्छन्। यहाँ आउने अधिकांश बालबालिका श्रमिक परिवारका हुन्-जसका अभिभावक मकै, बदाम बेच्ने, जुत्ता पालिस गर्ने वा रिक्सा चलाउने काम गर्छन्।
शिक्षासँगै सहयोग र प्रेरणा
चन्द्र भण्डारी केवल पढाउने काममा मात्र सीमित छैनन्। उनले जन्मदिनका अवसरमा विद्यार्थीलाई कापी, कलम र पुस्तक उपहार दिने गर्छन्। विभिन्न सहयोगी व्यक्तिहरूले पनि लत्ताकपडा र शैक्षिक सामग्री सहयोग गर्दै आएका छन्।
'व्यवस्थित कक्षा कोठा भए अझ राम्रो हुन्थ्यो,” उनी भन्छन्, “घामपानीबाट जोगिने ठाउँको अभाव खड्किएको छ।'
सेवाको कदर र सम्मान
उनको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गरेका छन्। २०७१ सालमा ‘पढ्ने घर’ दमकबाट सुरु भएको सम्मान यात्रा अहिले हजारौँ संस्थासम्म पुगेको छ।
उनले ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’, ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ लगायत दर्जनौँ सम्मान प्राप्त गरिसकेका छन्। साथै, विभिन्न विद्यालय, क्याम्पस र सामाजिक संस्थाबाट पनि सम्मानित भएका छन्।
'यी सम्मानले जिम्मेवारी झन् बढाएको छ,' भण्डारी भन्छन्, 'स्वास्थ्यले साथ दिएसम्म बालबालिकालाई पढाउँदै जान्छु।'
परिवारको साथ, सेवामा निरन्तरता
एसएलसीसम्म मात्र पढेका भण्डारीले आफ्ना श्रीमती सावित्रीलाई भने उच्च शिक्षा हासिल गर्न प्रेरित गरे। सावित्रीले विवाहपछि पढाइ जारी राख्दै स्नातकोत्तर पूरा गरिन् र हाल एक निजी विद्यालयमा अध्यापन गरिरहेकी छन्।
उनीहरूका छोरा उत्तम र उत्सव पनि स्नातकोत्तर अध्ययनरत छन्। परिवारको आर्थिक जिम्मेवारी श्रीमतीको आम्दानीबाट चलिरहेको छ, जसले भण्डारीलाई आफ्नो सामाजिक अभियान निरन्तरता दिन सहयोग पुर्याएको छ।
जीवनको उद्देश्य बनेको शिक्षा
तीन दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गर्दै आएका चन्द्र भण्डारीका लागि यो काम पेशा होइन, जीवनको उद्देश्य हो।
'म खुसी छु, बालबालिका खुसी छन्,' उनी भन्छन्, “यही खुसीले हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गर्छ।'
आज उनका विद्यार्थीहरू कोही उच्च शिक्षा अध्ययनका लागि विदेश पुगेका छन् भने कोही नेपालमै विभिन्न पेशा-व्यवसायमा स्थापित छन्।
पिपलको छहारीमुनि सुरु भएको यो सानो प्रयास आज शिक्षा र मानवताको ठूलो उदाहरण बनेको छ।