काठमाडौँ- अमेरिकामा जन्मिएकी नेपाली मूलकी छात्रा एन्जल भण्डारीले विश्व रोबोटिक्स क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी छन्। अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउनेल टलबोट स्कुलकी छात्रा एन्जल र उनको टोलीले सन् २०२६ को प्रतिष्ठित भिआइएक्स रोबोटिक्स विश्व च्याम्पियनसिप को उपाधि जित्न सफल भएको हो।
अमेरिकाको सेन्ट लुईसमा सम्पन्न उक्त प्रतियोगितामा विश्वभरबाट सात हजारभन्दा बढी टोली सहभागी भएका थिए। तीमध्ये ४० भन्दा बढी देशका करिब ९०० उत्कृष्ट टोली मात्र अन्तिम चरणको चारदिने विश्व च्याम्पियनसिपका लागि छनोट भएका थिए।
कडा प्रतिस्पर्धाबीच एन्जलको टोलीले प्रतियोगिताभर अपराजित रहँदै २३–० को उत्कृष्ट कीर्तिमानी नतिजासहित विश्व च्याम्पियन बन्न सफल भएको हो। टोलीका सदस्यहरूले रोबोटको डिजाइन, निर्माण, कम्प्युटर प्रोग्रामिङ, परीक्षण तथा सञ्चालन सम्पूर्ण कार्य आफैंले सम्पन्न गरेका थिए।
छ सदस्यीय टोलीमा एन्जलले संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। उनले प्राविधिक सदस्यहरूबीच समन्वय कायम गर्नुका साथै रणनीतिक योजना निर्माण, तथ्यांक विश्लेषण, इन्जिनियरिङ दस्तावेज तयारी तथा निर्णायकसमक्ष प्रस्तुतीकरणको नेतृत्वसमेत गरेकी थिइन्।
रोबोटिक्स च्याम्पियनसिपमा सफलता हासिल गरेसँगै एन्जलको टोलीले ‘इन्टरनेशनल बिजनेस प्लान, स्पिच एन्ड प्रिजेन्टेसन’ प्रतियोगितामा समेत उल्लेखनीय प्रदर्शन गर्दै १० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पारेर अन्तिम चरणसम्म स्थान बनाउन सफल भएको थियो।
एन्जलका पिता ज्ञानेन्द्र भण्डारी सङ्खुवासभाको चैनपुरका निवासी हुन्। उनी अमेरिकाको नेवार्क क्षेत्रमा स्थापित ‘नेप्लिज सोसाइटी’का संस्थापक तथा पूर्वअध्यक्ष समेत हुन्। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध बनाउन उनले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
ज्ञानेन्द्र भण्डारी र उनकी पत्नी स्मृति राना भण्डारीले सन् २००४ देखि ‘जयपुर इन्डियन रेस्टुरेन्ट एन्ड ब्रुइङ कम्पनी’ सञ्चालन गर्दै आएका छन्। एन्जल भण्डारीको यो उपलब्धि नेपाली मूलका युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। साथै, विश्वभर रहेका नेपाली–अमेरिकी समुदायका लागि समेत यो गर्वको विषय भएको नेप्लिज सोसाइटीका अध्यक्ष यदु सापकोटाले बताए।