काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थी युवाले मुलुक बदल्ने सपना देख्नुपर्ने बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजमा आयोजित २४ औं वार्षिकोत्सव समारोहमा उनले सो कुरा बताएका हुन्।
शिक्षामन्त्री पन्तले भने, 'युवा साथीलाई अपिल गर्न चाहन्छु। तपाईहरुसँग यो मुलुकलाई बदल्ने सपना छ कि छैन ? हाम्रो पुस्ताले त विगतमा गर्यौँ। हाम्रो पुस्ताले आगामी दिनमा यो मुलुकलाई नेतृत्व दिन्छौं भन्ने होइन। भोलिका प्रधानमन्त्री, मन्त्री, सांसद हुने हो कि ? यहाँबाट डिग्री मात्रै लिने र न्युयोर्कमा कुनै रेस्टुरेन्टमा भाडा मस्काउने हो कि। लस एन्जल्समा कुनै होटलमा, सिकागोतिर कतै पेट्रोल पम्पतिर काम गरिराख्ने हो कि अथवा अष्ट्रेलिया र सिड्नीको गल्लीमा कतै हराउने हो? बाटो तपाइहरुको अगाडि छ।'
उनले शिक्षकले राम्रो शिक्षा दिएर राष्ट्र निर्माणमा योगदान दिन सक्ने बताए। उनले भने, 'राम्रो शिक्षा दिनु नै शिक्षकहरुले राष्ट्र निर्माणमा पुर्याउने योगदान हो। आफ्ना विद्यार्थीलाई प्रभावित गर्नू। जीवनभर उनीहरुको मनमा बसिराख्नु ठुलो कुरा हो।' उनले विद्यार्थीको व्यक्तित्व निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
शिक्षामन्त्री पन्तले भने, 'सबै कुरा गुगल, च्याट-जिपिटीबाट खोज्यो भने पाउन सकिन्छ। तर मान्छे बनाउने कुरा कम भइरहेको छ। मानवीयता एपबाट आउँदैन। मानवीयता मान्छेको संगतबाट आउँछ। मैले हजुरआमा र हजुरबुवाको संगतबाट धेरै कुरा सिकेँ। सानो अवस्थामा जे संस्कार छ र बस्छ त्यसले व्यक्तित्व निर्माणमा ठूलो भूमिका राख्छ।' उनले विद्यार्थीको मनमा बस्नेगरी पढाउन सक्ने शिक्षण कला शिक्षकमा हुनुपर्नेमा जोड दिए।
उनले भने, 'अर्को व्यक्तित्व निर्माण गर्ने मान्छे भनेका शिक्षक हुन्। हाम्रो माग पुरा गर्ने कि नगर्ने? नगरे देखाइदिऊँ? भन्ने विद्यार्थी हामीलाई चाहिएको होइन। मेरो मनमा बस्ने गरी पढाउने शिक्षकहरुको ठुलो मेमोरी छ। शिक्षकले कविता राम्ररी नपढाइदिएको भए मेरो साहित्यमा रुची नै जाँदैनथियो। पढाउने भनेको छुट्टै कला हो। तपाई आफू राम्रोसँग लेखेर डिग्री पास गर्न सक्नुहुन्छ तर, विद्यार्थीलाई ४०, ४५ मिनेट बाँध्न त अलि गाह्रो पर्छ नि।'
मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जननेता मदन भण्डारीको विचार र दर्शनलाई व्यवहारिकरुपमा लागू गर्ने उद्देश्यले यस कलेजको स्थापना भएको बताए।