काठमाडाैँ - चितवनको खैरहनी नगरपालिकाले कानुनी कक्षा सञ्चालन गरेकाे छ। नगरपालिकाको न्यायिक समितिमार्फत पालिकाभित्रका बालबालिका, समुह, लक्षित समूहलगायतका वर्गलाई विवाद समाधन तथा कानुनी उपचारको कक्षा सञ्चालन गरेको हो।
गाउँ टोलबाटै विवाद समाधान गर्ने उपाय सिकाउन यस कक्षा सञ्चालन गरेकाे नगरपालिकाले जनाएकाे छ। खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले न्यायिक समितिमा कानुनी उपचारको लागि आउनुभन्दा आफ्नै घर गाउँबाटै विवाद समाधान गर्न सकियोस भनेर यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्।
कक्षा सञ्चालन गरेपछि धेरै हदसम्म साना मसिना विवाद गाउँबाटै समाधान हुन थालेको उनले जानकारी दिइन्। पालिकाले दुइ वर्षदेखि ग्रामिण क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिका भित्रका आधारभूत विद्यालय, माध्यमिक विद्यालय, महिला समूह, विभिन्न पछाडि पारिएका वर्ग तथा समुदायमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।
सामान्यतया गाउँघरमा झगडा, साँध कुलोको विवाद, देवानी प्रकृतिका मुद्दाहरु हुने गर्दछ। यस्तो अवस्थामा कसरी समाधान गर्न सकिन्छ भन्ने विषय ग्रामिण तहमा नै जानकारी दिन सकेमा मुद्दाको चाप माथि आउँदैन। विद्यालयका बालबालिका, पिछडिएका वर्ग, समुदाय, सामुदायिक वन समितिका सदस्य तथा महिला समूहका व्यक्तिहरुलाई कक्षा सञ्चालन गरेको उपप्रमुख उप्रेतीले भनिन्।
कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौलाले विद्यार्थीलाई नै कानून सम्वन्धी जानकारी मुलक शिविर सञ्चालनले धेरै प्रभावकारी भएको बताए। विद्यालय तहमा सामाजिक विषयमा कानुनसम्बन्धी पाठ समावेश भएकाले विज्ञबाट कक्षा सञ्चालन हुँदा विद्यार्थीले जानकारी पाउने अवसर प्राप्त भएको बताए। गाउँघरमा हुने विवाद समाधानका विषयमा बालबालिकाले जानकारी पाउने, विवादपछि हुने झन्झट समाधान गर्न उपाय अपनाउने, सजायको व्यवस्थाको विषयमा पहिलानै जानकारी पाएमा विवाद कम हुन यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पारेको प्रधानाध्यापक बर्तौलाले बताए।
न्यायिक समितिले कक्षा ६ देखि १२ सम्मका बालबालिकालाइ साक्षरता कार्यक्रम सञ्चालन छ। खैरहनी नगरपालिका न्यायिक समितिका कानुनी सहजकर्ता तथा अधिवक्ता सञ्जय चौधरीले सामुदायिक तथा सस्थागत गरी १२ वटा भन्दा धेरै विद्यालयमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। यीभन्दा बाहेक नगरपालिका परिसरमा नै विभिन्न समुदायका व्यक्ति, समुहगत रुपमा वर्ग समुदायलाई तालिम दिएको बताए।
पालिकाले ग्रामिण क्षेत्रका महिला, थारू वर्गका महिलालाई शिविर चलाएको छ। कार्यक्रम सञ्चालन अगाडि बस्न नमान्ने महिलाहरु शिविरपछि धेरै कुरा जानकारी पाएको भन्दै फेरि नयाँ विषय सिकाउन माग गरेको समितिका कानुनी सहजकर्ता चौधरीले बताए।
ग्रामीण क्षेत्रमा शिविर सञ्चालनसँगै सबै वडा सदस्य, प्रहरी, मालपोत कार्यालय, प्रहरी, नापी कार्यालयका प्रमुख वातावरण शाखाका प्रतिनिधि लगायतका वर्गलाई न्यायिक अन्तरसंवाद सञ्चालन गरेर आफ्नै तहबाट विवाद समाधान गर्न सक्ने बनाएको उनले बताए। पालिकाको रोजगार सेवा केन्द्रका संयोजक रमेश पौडेलले वैदेशिक रोजगारको विषयमा आइपर्ने समस्या समाधान तथा परामर्श दिएको बताए।