काठमाडाैँ - शैक्षिक गन्तव्यको हिसाबले दक्षिण कोरिया अध्ययन, छात्रावृति र गुणस्तरीय शिक्षाको उद्देश्य भएका विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। दक्षिण कोरिया कम शिक्षण शुल्कमा उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्ने देश हो। सामान्यता विश्वको जुनसुकै देशको विद्यार्थीहरुले कोरिया अध्ययनमा जानु अघि दैनिकी सहजताको लागि न्युनतम भाषा जान्नुपर्दछ र कोरियामा अन्तर्राष्ट्रिय विद्यार्थीेहरुले अंग्रेजी भाषाको समेत अध्ययन गर्न पाउँछन्। पछिल्लो समय नेपालमा तुलनात्मक हिसाबले शैक्षिक गन्तव्यको लागि अष्ट्रेलिया, क्यानडा, यूरोप जाने विद्यार्थीको संख्या बढेसँगै दक्षिण कोरियामा रोजगारीको लागि मात्र नभएर पढ्न जाने विद्यार्थीको संख्या पनि बढेको हो।
विद्यार्थीले गर्नुपर्ने तयारी
कोरियामा सहज रुपमा दिनहरु बिताउन विद्यार्थीहरुमा विशेष गरि भाषाको ज्ञान हुनुपर्दछ। कोरियामा कम्युनिकेशनमा असहजता भएको कारण विद्यार्थीहरुमा आफुसँग प्रशस्त स्किल भएता पनि काम नपाउने अवस्था सिर्जना भएको विगतका विद्यार्थीहरुको अनुभवले बताउँछ। छोटो समयमा काम पाउनको लागि पनि विद्यार्थीले थोरैमा ३ महिना भाषा सिकेर गएमा आफ्नो लागि सहज वातावरण सिर्जना हुन्छ। बैदेशिक यात्रा तय गर्दे गर्दा जुन हिसाबले विद्यार्थी तयारी भएता पनि सुरुमा विद्यार्थीहरुले साथीको भन्दा पनि आफ्नो आवश्यकता र क्षमतालाई मध्यनजर गरी सम्पूर्ण कुरा बुझेर मात्र गन्तव्य तय गर्दा उपयुक्त हुन्छ अनि मात्र विद्यार्थी असहज परिस्थितिमा पनि जिवनयापन गर्न सहज हुन्छ।
कोरियाको कानुनी नियमले विद्यार्थीहरुले सुरुमा नै डिपेन्डेन्टमा लानलाई पाउँदैनन् तर गएको थोरैमा ६ महिनाको अवधि पछि, कलेमा ८० प्रतिशत उपस्थिति र पहिलो सेमेस्टर ६० प्रतिशत वा फस्ट डिभिजनामा उत्तिर्ण भएपछि युनिभर्सिटिहरुले दिने लेटरको आधारमा प्रोसेस गर्न पाउँछन्। यसरी विद्यार्थीले डिपेन्डेन्टमा लगेको मानिसले कानुनि रुपमा काम गर्ने नियम छैन तर पनि काम गर्ने गरेका छन्।
आवश्यक शैक्षिक योग्यता
कोरिया अध्ययनको लागि विद्यार्थीको उच्च शिक्षा विद्यालयमा २.८ जिपिए र आईईएलटीएसमा ५.५ वा त्यो भन्दा धेरै र उच्च शिक्षा पश्चात ३ देखी ४ वर्ष सम्मको ग्याप र ब्याचलर पछि ७ – ८ वर्ष सम्म ग्याप भएर पनि बिचमा कुनै कामको अनुभव रहेको विद्यार्थीहरुले पनि कोरियामा स्टुडेन्ट भिसामा एप्लाई गर्न पाउँछन्।
आवश्यक कागजपत्र
विद्यार्थीहरुले कोरिया मात्र नभई जुनसुकै देशलाई शैक्षिक गन्तव्य बनाँउदा कागजपत्रमा ध्यान दिनुपर्दछ। विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्र, नाताप्रमाणित, अभिभावकको आयस्रोतको कागजपत्र, ‘क’ वर्गको बैंकमा १८ हजार देखी २० हजार अमेरिकी डलर जम्मा भएको कागजात, प्रोपर्टि भ्यालुएसन, ६ महिनाको बैंक स्टेटमेन्ट, चलअचल सम्पतिको प्रमाणित कपि, मेडिकल रिपोर्ट लगायत सामान्यता २० देखि २५ लाँख रुपैयाँ नेपाली पैसा लागत खर्च हुन्छ।
विद्यार्थी गर्नुपर्ने पूर्वतयारी
विद्यार्थीहरुले कोरिया जानु अघि मेडिकल गर्नुपर्ने हुन्छ। जसमा कोरिया जाने विद्यार्थीलाई नेपाल सरकारले ४ वटा हस्पिटल सिभिल, पाटन, टेकु र कोरियन मैत्रि हस्पिटल बाहेकको मेडिकल रिपोर्टलाई कोरिया युनिभर्सिटिले मान्यता दिँदैन। विद्यार्थीहरुले शुल्क तिरेर बिमा पनि गरेको हुनुपर्दछ।
लागत खर्च
कोरिया गन्तव्यका विद्यार्थीको लागि ६ महिनाको टिउसन फि एभरेजमा ३ लाख, सुरुमा एप्लाई गर्दा विद्यार्थीहरुको होस्टेल फि, एड्मिसन फि, बिमा र एउटा सेमेस्टर ६ महिनाको लागि ४ देखि ५ लाखसम्म शैक्षिक शुल्क तिर्नुपर्ने हुन्छ। कोरियामा प्राय युनिभर्सिटिलहरुले होस्टेलको व्यवस्था गरेको हुन्छ तर नेपाली विद्यार्थीहरु कामको सहजताको हिसाबले सस्तो र खानाको गुणस्तर नमिल्ने भएकोले होस्टेल बाहिर आफ्नो हिसाबले साथीसाथी मिलेर कोठामा बस्न रुचाउँछन् र जसमा साथिहरुसंग बस्दा महिनामा ३० हजार लगभग खर्च हुन्छ।
छात्रवृत्तिको व्यवस्था
कोरिया युनिभर्सिटिमा छात्रावृत्तिको फरक फरक कोटा हुन्छ। कोरियामा छात्रावृत्तिको व्यवस्था तुलनात्मक हिसाबमा अन्य देशमा भन्दा कम छ। यहाँको विश्वविद्यालयले विद्यार्थीको योग्यता र क्षमतालाई मध्यनजर गरि छात्रावृत्ति प्रदान गर्दे आइरहेको छ। कोरियामा छात्रावृत्तिको लागि कुनै विश्वविद्यालयले अन्तर्वार्ता लिन्छ भने कुनै विश्वविद्यालयमा आफ्नो अंगे्रजी भाषा परीक्षाको नतिजा र शैक्षिक योग्यताको आधारमा छात्रावृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ। जसमा विद्यार्थीको आईईएलटीएस स्कोर ७-८ र जीपीए ३.८ भन्दा धेरै छ भने ७० देखि ८ं० प्रतिशतसम्म छात्रावृत्ति पाउँछन्। सामान्यता ३० प्रतिशत विश्वको जुनसुकै मुलुकको विद्यार्थीहरुले पनि छात्रावृत्ति पाउने व्यवस्था रहेको छ। केहि विश्वविद्यालयमा पहिलो सेमेस्टरमा छात्रावृत्ति पाउने र पहिलो सेमेस्टरको नतिजाको आधारमा अर्काेमा पनि पूर्ण छात्रावृत्ति पाएको अवस्था छ।
अध्ययन पश्चातका अवसर
कोरियामा विद्यार्थीले कोरियन भाषा जानेको छ र स्नातक तह पास भएपछि आफ्नो क्षमता अनुसारको कुनै पनि कम्पनिमा रोजगारीको अवसर पाउछन्। नेपाली रेष्टुरेन्टहरु, सपिङ सेन्टर, मोबाईल पसलहरुमा नेपाली विद्यार्थीहरुले काम पाउने गरेका छन्।