काठमाडाैँ - तनहुँमा ठुलो सङ्ख्यामा विद्यार्थीले माध्यामिक तहसम्म अध्ययन पूरा नगरी विद्यालय छोड्ने गरेको पाइएको छ। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार कक्षा १ मा भर्ना भएका मध्ये कक्षा १२ सम्म आइपुग्दा करिब ५८ प्रतिशत विद्यार्थीले पढाइबिचमै छोडेका छन्।
एकाइ प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कक्षा १२ सम्म केवल ४१.९ प्रतिशत विद्यार्थी मात्रै विद्यालयमा टिक्ने गरेका छन्। छात्रा र छात्र दुवैको पढाइ बिचमै छोड्ने दर समानरूपमा उच्च देखिएको छ। छात्रमा ५७ प्रतिशत र छात्रामा ५७.९ प्रतिशतले पढाइ छोड्ने गरेका छन्।
श्रेणीगत विवरण हेर्दा, कक्षा १-५ मा भर्ना हुने विद्यार्थी ९४ प्रतिशत रहेको छ। तर कक्षा ६-८ मा भर्ना हुने विद्यार्थी घटेर ९३.३ प्रतिशत, कक्षा ९-१० मा ७१.६ प्रतिशत मात्र रहन्छ। माध्यामिक तहको अन्तिम कक्षा ११-१२ मा मात्र ४१.९ प्रतिशत विद्यार्थी विद्यालयमा टिक्न सकेका छन्।
स्वदेशमा रोजगारीका अवसर कम हुनु, अभिभावक अध्ययनका लागि आर्थिक भार धान्न नसक्नु, र गुणस्तरीय शिक्षाको पहुँच नहुनु लगायते पढाई छाडेको एकाइ प्रमुख श्रेष्ठ बताए। उनले भने, ‘किशोरावस्थामा आर्थिक र सामाजिक दबाबले गर्दा विद्यार्थीको मनोबल कमजोर हुँदै विद्यालय छोड्ने प्रवृत्ति बढिरहेको छ।’ अध्ययन वातावरण र मार्गदर्शन दुवैको अभावले विद्यार्थी विद्यालयमा टिक्न नसक्ने अवस्थामा पुर्याएको उनले बताए।
व्यास नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्य अभिभावक विद्यालय साझेदारी बलियो भएमा विद्यार्थीको पढाइ टिकाइ राख्न सहज हुने बताए। शिक्षा सुधारका अभियान्ता भन्नेहरू कुरा राम्रो गर्ने तर सुधारको कदम नचालेकोले पनि विद्यार्थी छाड्ने क्रम बढेको आचार्यले बताए। गुणस्तरीय शिक्षक परिचालन, अतिरिक्त अध्ययन कक्षाहरू, नैतिक मार्गदर्शन र छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने योजना बनाउनु पर्ने उनले बताए।
आचार्यले भने, ‘विद्यार्थीको पढाइमा टिकाइ र विद्यालय छोड्ने दर घटाउन विद्यालय, अभिभावक र शिक्षा निकायबिच सहकार्य अनिवार्य छ यदि यी प्रयासहरू सफल भएमा मात्रै दीर्घकालीन रूपमा शिक्षा क्षेत्रमा सुधार सम्भव हुने देखिन्छ।’