काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘सत्सङ्ग दीक्षा’ नामक पुस्तकको औपचारिक विमोचन गरेका छन्। हनुमानढोका दरबार संग्रहालय विकास समिति र स्वामीनारायण संस्था नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनले आध्यात्मिकता र विज्ञानको समन्वयबाट नेपालकै सांस्कृतिक पहिचानलाई सुदृढ बनाउँदै विश्वशान्तिमा योगदान पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
पुस्तक विमाेचन समाराेहमा बाेल्दै उनले भने, 'हामी हाम्रो संस्कृति, परम्परा र समाजको गहिरो समझदारीका साथ अघि बढ्नुपर्छ। यसले शान्ति, सहअस्तित्व र भाइचाराको वातावरण बनाउँछ र विश्वकल्याणमा योगदान पुर्याउँछ।'
संस्कृतबाट नेपाली भाषामा अनुवाद गरिएको १११ पृष्ठको पुस्तक ‘सत्सङ्ग दीक्षा’ लाई कार्यक्रममा आधुनिक मूल्यहरूसँग जोडिएको एक आध्यात्मिक मार्गदर्शकका रूपमा प्रस्तुत गरिएको थियो। डा. यादवले राष्ट्र निर्माणमा आध्यात्मिक ज्ञानको भूमिकालाई महत्वपूर्ण बताउँदै विज्ञानसँग यसको समन्वय अपरिहार्य भएको उल्लेख गरेका थिए।

कार्यक्रममा स्वामीनारायण परम्पका प्रतिनिधि साधु भद्रेशदास स्वामीले नेपालको मुक्तिनाथ क्षेत्रमा भगवान नीलकण्ठले तपस्या गरेकाे र यस स्थानलाई केवल धार्मिक नभई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको दृष्टिले पनि महत्त्वपूर्ण बनाएको बताउँदै सनातन धर्मले प्रेम, भक्ति र सहअस्तित्वका मूल्यहरू जीवन्त राखेको विषयमा जाेड दिए। उनले संस्कृत भाषा, पोशाक, परिकार र परम्पराहरू कुनै राष्ट्रको मौलिकता दर्शाउने महत्वपूर्ण आधार भएको बताए।
कार्यक्रममा बाेल्दै पूर्वसांसद शंकरप्रसाद पाण्डेले नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई समृद्धिको आधार स्तम्भको रूपमा प्रस्तुत गरेका थिए। उनले ‘सत्सङ्ग दीक्षा’ पुस्तकले विश्वमै शान्ति, सद्भाव र मानव कल्याणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
.jpeg)
त्यसैगरी युवा नेता शंकर तिवारीले नेपाल हिमालदेखि तराईसम्म आध्यात्मिक साधनास्थलहरूले भरिएको पवित्र भूमि भएको बताउँदै पुस्तान्तरणका लागि यस्तो पुस्तकले नयाँ पुस्तालाई आध्यात्मिक मूल्यहरूसँग जोड्ने विश्वास व्यक्त गरे।
पुस्तक ‘सत्सङ्ग दीक्षा’ ले विशेषगरी सत्सङ्ग, भजन, सेवा, ध्यान र अनुशासनमा जीवन बिताउन प्रेरित गर्ने उद्देश्य राखेको छ, जसले आलस्य र ध्यान विचलन जस्ता प्रवृत्तिबाट टाढा रहन प्रोत्साहित गर्ने विश्वास लिइएकाे छ।