काठमाडौँ - प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले बाह्रखरी कथा प्रतियोगिताले नेपाली साहित्यको विकास, विस्तार र गुणस्तरीय सिर्जनालाई प्रोत्साहन गर्ने बताएका छन्।
आठौँ बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा ‘बाह्रखरी उत्कृष्ट कथा २०८३’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रतियोगिताले नेपाली भाषा, साहित्य र विशेषगरी कथा साहित्यको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन्।
साहित्य र कला राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनले साहित्यले देशको पहिचान, समाजको चरित्र र नागरिकका भावना अभिव्यक्त गर्ने बताए।
समाजले भोगेका सुख–दुःख, संघर्ष, अभाव, विकृति, विसंगति र परिवर्तनका आकांक्षालाई बुझ्ने सशक्त माध्यम साहित्य भएको उनको भनाइ थियो। कुनै सहरलाई माथिबाट हेर्दा त्यसको समग्र स्वरूप देखिएझैँ साहित्यको अध्ययनबाट पनि समाजको वास्तविक अवस्था र चरित्र बुझ्न सकिने उनले उल्लेख गरे।
सभामुख अर्यालका अनुसार बाह्रखरी कथा प्रतियोगितामा सहभागी कथाहरूले नेपाली समाजमा विद्यमान गरिबी, अशिक्षा, अभाव, विभेद र विभिन्न सामाजिक विसंगतिलाई उजागर गर्दै आम नागरिकका आवाजलाई साहित्यिक अभिव्यक्ति दिएका छन्।
प्राकृतिक विपद्, सामाजिक चुनौती र समसामयिक घटनाहरू पनि साहित्य सिर्जनाका महत्वपूर्ण विषय भएको बताउँदै उनले यस्ता साहित्यिक रचनाले समाजको अवस्था बुझ्न मात्र नभई नीति निर्माण र नेतृत्व तहलाई समेत नागरिकका वास्तविक समस्या पहिचान गर्न सहयोग पुर्याउने धारणा राखे।
विमोचन गरिएको ‘बाह्रखरी उत्कृष्ट कथा २०८३’ पुस्तक अध्ययन गर्ने आफ्नो विशेष रुचि रहेको पनि उनले बताए। आफू साहित्यमा गहिरिएर लागेको व्यक्ति नभए पनि साहित्यप्रति सधैँ अनुराग र सम्मान रहेको सभामुख अर्यालको भनाइ थियो।
आठौँ बाह्रखरी कथा प्रतियोगिताको उत्कृष्ट २५ मा छनोट हुन सफल कथाकारहरूको सिर्जनाले नेपाली कथा साहित्यको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले नेपाली साहित्यको उन्नयनका लागि सर्जकहरूले निरन्तर कलम चलाइरहने अपेक्षा व्यक्त गरे।