काठमाडौँ- नेपालभरका विद्यार्थी तथा युवा उद्यमीहरूमा नवप्रवर्तन, सिर्जनशीलता र व्यवसायिक सोचको विकास गर्ने उद्देश्यले आयोजना गरिएको 'पिच योर बिजनेस आइडिया (PYBI) सिजन–२' ले अडिसन चरण सम्पन्न गर्दै उत्कृष्ट १० प्रतिस्पर्धी (टप–१० फाइनलिस्ट) सार्वजनिक गरेको छ। साथै प्रतियोगिताको पहिलो एपिसोड पनि सार्वजनिक गरिएको आयोजक संस्था ओली एण्ड एसोसिएट्सले जनाएको छ।
अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय (ACU) को रणनीतिक सहकार्यमा सञ्चालन गरिएको यस प्रतियोगिताले सहभागीहरूलाई व्यवसायिक अवधारणालाई परिष्कृत गर्दै प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उद्योगका विज्ञ, व्यवसायिक सञ्जाल र नेपालको बढ्दो स्टार्टअप इकोसिस्टमसँग जोड्ने लक्ष्य राखेको छ।
देशभरबाट २५६ आवेदन
आयोजकका अनुसार प्रतियोगिताको अडिसन चरणमा देशका विभिन्न क्षेत्रबाट २५६ वटा प्रमाणित आवेदन प्राप्त भएका थिए। प्रतियोगिताबारे जानकारी गराउन हेराल्ड कलेज, एम्बार्क बिजनेस स्कुल, CAB-Tech, IIMS College, पद्मकन्या क्याम्पस, पब्लिक हेल्थ क्याम्पस तथा ISMT College लगायतका शैक्षिक संस्थामा प्रत्यक्ष अन्तरक्रिया तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। साथै देशभरका ११ शाखा र डिजिटल माध्यममार्फत पनि प्रचार–प्रसार गरिएको थियो।
प्राप्त व्यवसायिक प्रस्तावहरूको मूल्याङ्कन नवप्रवर्तन, मौलिकता, बजार सम्भाव्यता, विस्तारको सम्भावना तथा समस्याको समाधान गर्ने क्षमताका आधारमा गरिएको आयोजकले जनाएको छ। त्यसपछि निष्पक्ष छनोट प्रक्रियाबाट उत्कृष्ट १० व्यवसायिक अवधारणा फाइनल चरणका लागि चयन गरिएको हो।
.jpg)
उत्कृष्ट १० प्रतिस्पर्धी
ग्रान्ड फिनालेका लागि छनोट भएका प्रतिस्पर्धी र उनीहरूका व्यवसायिक अवधारणा यसप्रकार छन्–
- आकृति अर्याल र समीक्षा पाण्डे – Trina Kala
- भुवन जोशी – Founders Nepal
- विश्वास थापा – Seed to Lead
- ज्याक्सन सुवेदी – Pickle Play Nepal
- मिसन श्रेष्ठ – De-Vote
- ङवाङ थर्चिन शेर्पा – AgriVolt
- पुष्कर पन्त – Sugandhika
- राहुल बिसुङ्खे – Paramendo Nepal
- सन्देश घिमिरे – JHYAPJHUP
- सुमन श्रेष्ठ – MatriCare
अनुभवी निर्णायक मण्डल
ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूको प्रस्तुति मूल्याङ्कन गर्न विभिन्न क्षेत्रका अनुभवी उद्यमी तथा व्यवसायिक नेतृत्वकर्ताहरूलाई निर्णायकको रूपमा आमन्त्रण गरिएको छ। निर्णायक मण्डलमा सजन जोशी (सह–संस्थापक तथा क्रिएटिभ डाइरेक्टर, Kayo Creative), धुर्वराज न्यौपाने (प्रबन्ध निर्देशक, Paicho Pasal) र निकिता जालान (सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, PetMama) रहेका छन्।
पहिलो एपिसोड सार्वजनिक
प्रतियोगिताको पहिलो एपिसोड युट्युबमार्फत सार्वजनिक भइसकेको आयोजकले जनाएको छ। आगामी साताहरूमा नयाँ एपिसोडहरू क्रमशः सार्वजनिक गरिनेछन्, जसमा फाइनलिस्टहरूको यात्रा, व्यवसायिक प्रस्तुति तथा प्रतियोगिताका महत्वपूर्ण क्षणहरू समेटिनेछन्।
आयोजकका अनुसार 'पिच योर बिजनेस आइडिया' सिजन–२ ले अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय (ACU) सँगको सहकार्यमा नेपालका नयाँ पुस्ताका उद्यमीहरूलाई प्रोत्साहन गर्दै उद्यमशीलता, नवप्रवर्तन र अवसरको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।