काठमाडौँ- आज आषाढ शुक्ल पूर्णिमा। हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूले गुरुप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइरहेका छन्। विशेष गरि विद्यालय, कलेज तथा शैक्षिक तथा कला प्रतिष्ठानहरुमा विद्यार्थीहरुले आफना गुरुप्रति श्रद्धाभक्तिका साथ मनाउने गर्दछन्। गुरु पूर्णिमाको अवसरमा जीवनभर ज्ञान, शिक्षा, संस्कार र सही मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति नमन गर्दै पूजा गर्ने, आशीर्वाद लिने तथा सामाजिक सञ्जाल, टेलिफोन वा प्रत्यक्ष भेटघाटमार्फत सम्मान व्यक्त गर्ने परम्परा रहिआएको छ।
धर्मशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। तन्त्रशास्त्र तथा विभिन्न धार्मिक ग्रन्थमा गुरुको महत्त्वलाई विशेष रूपमा व्याख्या गरिएको छ।
सनातन धर्मका उपनिषद्, भगवद्गीता, गुरुगीता, पुराण तथा अन्य धर्मग्रन्थमा गुरुको अपरिहार्य भूमिका उल्लेख गरिएको छ। मुण्डक उपनिषद्मा “तद्धिज्ञानार्थं स गुरुमेवाभिगच्छेत्” अर्थात् परम ज्ञान प्राप्त गर्न योग्य गुरुको शरणमा जानुपर्ने उल्लेख छ। त्यसैगरी भगवद्गीताको अध्याय ४ श्लोक ३४ मा भगवान् श्रीकृष्णले “तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया” भन्दै विनम्रता, सेवा र जिज्ञासामार्फत गुरुबाट ज्ञान प्राप्त हुने बताउनुभएको छ।
हिन्दु संस्कारमा माता–पितालाई पहिलो गुरु मानिन्छ। त्यसपछि शिक्षा र संस्कार प्रदान गर्ने आचार्यलाई देवतासरह सम्मान गर्दै ‘आचार्यदेवो भवः’ भन्ने परम्परा रहिआएको छ। धर्मशास्त्रले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा समेत व्याख्या गरेको छ।
बौद्ध परम्पराअनुसार भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि सारनाथमा आफ्ना पाँच शिष्यलाई पहिलो धर्मदेशना दिनुभएको दिन पनि आषाढ शुक्ल पूर्णिमा नै मानिन्छ। त्यसैले यो दिन बौद्ध धर्मावलम्बीहरूका लागि पनि विशेष आध्यात्मिक महत्व बोकेको पर्व हो।
त्यसैगरी जैन धर्मावलम्बीहरूले पनि आध्यात्मिक गुरुहरूप्रति सम्मान व्यक्त गर्दै आत्मशुद्धि, संयम र सदाचारको मार्ग अनुसरण गर्ने प्रेरणा लिने दिनका रूपमा गुरु पूर्णिमा मनाउने गरेका छन्।
आजकै दिन महर्षि वेदव्यासको जन्म भएको धार्मिक विश्वासका आधारमा व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुका साथै १८ पुराण र १८ उपपुराणको रचना गरेको मानिन्छ। धार्मिक परम्पराअनुसार महाभारत तथा श्रीमद्भागवतका रचनाकार पनि वेदव्यास नै हुन्।
समयसँगै गुरु पूर्णिमा मनाउने शैलीमा परिवर्तन आएको छ। अहिले विद्यालय, कलेज तथा आश्रममा गुरुजनलाई सम्मान गर्दै उपहार प्रदान गर्ने, पुष्पगुच्छ अर्पण गर्ने, मिठा परिकार खुवाउने तथा शुभकामना आदान-प्रदान गर्ने चलन व्यापक बन्दै गएको छ।
गुरु पूर्णिमाले ज्ञान, संस्कार, अनुशासन र नैतिकताको महत्व स्मरण गराउँदै गुरु-शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देश दिने पर्वका रूपमा विशेष महत्व राख्छ।