ललितपुर - ललितपुर महानगरपालिकाले विसं २०४६ को जनआन्दोलनपछि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालनमा ल्याएको छ।
मङ्गलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको पुस्तकालय जनआन्दोलनपछि बन्द भएको थियो। महानगरपालिकाले आफ्नै कार्यालय भवनमा पुस्तकालय पुनःस्थापना गरी सञ्चालनमा ल्याएको हो।
पुस्तकालयको उद्घाटन गर्दै संस्कृतिविद् हरिराम जोशीले लामो समयदेखि ओझेलमा परेको पुस्तकालय पुनः सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले पुस्तकालयले ज्ञान र पठन संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
जोशीले पुस्तकालयको इतिहास करिब ८०० वर्ष पुरानो रहेको उल्लेख गर्दै शारदा पुस्तकालयलाई जीवन्त र व्यवस्थित बनाउन प्रबुद्ध व्यक्तित्वहरूको सक्रियता आवश्यक रहेको बताए। उनले पुस्तकालयलाई पुनःस्थापना गर्ने महानगरको पहलको प्रशंसा गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहरी क्षेत्रमा पुस्तकालय र सिटी हल अपरिहार्य रहेको बताए। पठन संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महानगरले पुस्तकालयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
महर्जनले शारदा पुस्तकालय पुनःस्थापनाका लागि सहयोग गर्ने लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठ, शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलगायतलाई धन्यवाद दिए। उनले स्वर्गीय सत्यमोहन जोशीले पनि पुस्तकालय पुनःस्थापनाका लागि आफूलाई पटकपटक प्रेरित गरेको स्मरण गरे।
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्व बुझाउन शारदा पुस्तकालय पुनःस्थापना गरिएको बताइन्। पुस्तक ज्ञानको महत्वपूर्ण प्रारम्भिक स्रोत भएकाले पुस्तकालयको संरक्षण र विकास आवश्यक रहेको उनको भनाइ छ।
लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ललितपुरमा शारदा पुस्तकालय पुनःस्थापना हुनु गौरवको विषय भएको बताए। पुस्तकालय पुनःस्थापनाले महानगरको गरिमा थप बढाएको उनको भनाइ छ।
पुस्तकालय पुनःस्थापनाका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालय तथा मदन पुस्तकालयलगायतबाट सहयोग प्राप्त भएको महानगरपालिकाले जनाएको छ।
लामो समयदेखि बन्द रहेको ऐतिहासिक पुस्तकालय पुनः सञ्चालनमा आएसँगै ललितपुरमा पठन संस्कृतिको विकाससँगै पुराना पुस्तक तथा ज्ञान सामग्रीको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।