काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले क्याम्पस प्रमुखसहितलाई हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले भक्तपुरमा रहेकाे नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प पारेको छ। भक्तपुर चाँगुनारायणस्थित उक्त क्याम्पसमा ६ दिनदेखि पठनपाठन ठप्प छ। तर क्याम्पसमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्। क्याम्पस प्रशासनले सुरक्षा व्यवस्था नभएसम्म क्याम्पस सञ्चालनमा नआउने अडान लिएका छन् भने हातपात गर्ने विद्यार्थी नेताहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग क्याम्पस प्रशासनले गरेकाे छ। यसबारे भक्तपुर प्रहरी परिसरमा उजुरी परिसकेको छ। तर प्रहरीले कुनै कारबाही अघि बढाएको छैन।
क्याम्पस प्रशासनका अनुसार असार २४ गते नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाई अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मालाई हातपात र दुर्व्यवहार गरेका थिए। क्याम्पसमा खेलकुद क्रियाकलाप सञ्चालन गर्ने विषयमा असन्तुष्ट थापाले क्याम्पसका गैर विद्यार्थी देउजालाई बोलाएर कुटपिट गराएको क्याम्पस प्रमुख भण्डारीले बताए। उनले उक्त दिनको घटनाबारे भक्तपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत जानकारी गराएको बताए।
सत्तारुढ कांग्रेस निकट विद्यार्थी कुटपिटमा संलग्न भएकाले प्रहरी, प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउन आलटाल गरेको शिक्षक, कर्मचारीले गुनासो गरेका हुन्। ‘दोषीलाई कारबाही र शान्ति सुरक्षाको प्रबन्ध नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने भनेर शिक्षक, कर्मचारीले लिखित रूपमै माग गर्नु भएको छ,’ क्याम्पस प्रमुख भण्डारीले भने, ‘प्रहरीकै सामुन्ने क्याम्पसभित्र छिरेर कुटपिट र दुर्व्यवहार हुँदा पनि दोषीलाई कारबाही भएको छैन।’
क्याम्पसकाअनुसार १६ वटा विद्यार्थी संगठनको सहमतिमा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो। उक्त सहमतिमा नेविसंघका अध्यक्ष थापाले असहमति जनाएपछि विवाद थालनी भएको थियो। उनीसँग छलफल गर्दै गर्दा देउजा प्रवेश गरी ३ जनामाथि हातपात र दुर्व्यवहार गरेकाे क्याम्पसले भक्तपुर प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ।
असार २२ गते नेविसंघले सोही विषयमा लगाएको ताला अन्य विद्यार्थी संगठनले फुटाई दिएपछि छलफल गर्न बस्दा कुटपिट भएको क्याम्पस प्रमुख भण्डारीले बताए। ‘छलफल हुँदै थियो ,एक्कासी मलाई पनि हानेँ। क्याम्पस प्रमुख र प्रशासन प्रमुखलाई पनि हातपात गरे। सामान्य चोट लागेको छ,’ उनले भने, ‘प्रहरीले नै उनीहरूलाई क्याम्पसबाट बाहिर निकालेको थियो।’