काठमाडौँ - काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनःसञ्चालनमा ल्याइएको छ। अस्पताल पुनः सञ्चालनमा ल्याइएको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै अर्को सूचना नआएसम्मलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।
अस्पतालको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले गरेका थिए। अस्पतालको पुनः सञ्चालनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा सकारात्मकताका लागि स्वागतयोग्य कदम रहेको बताएका छन्। मगरले अस्पतालमा संलग्न सम्पूर्ण टिमलाई शुभकामना दिँदै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा बागमती स्वास्थ्य मन्त्रालयको सधैँ सहयोग रहने बताए।
अस्पतालले अन्य अतिरिक्त सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरेको छ। विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक/कान/घाँटी, आँखा, नसा, मुटु, मिर्गौला, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ।
आपत्कालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहने र एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे साथै फिजियोथेरापी सेवामा पनि छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ।
कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटनको क्रममा यसअघि नेपाल मेडिकल कलेज र नेसनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेसनल मेडिकल कलेजको सञ्चालन गरेको बताएका थिए।