काठमाडौँ - विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा उच्च शिक्षा प्रदान गरिरहेका शिक्षणहरुको छाता संस्था 'अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)' को अध्यक्षमा दोस्रो कार्यकालका लागि लक्ष्मण केसी पुनः निर्वाचित भएका छन्। राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो।
कार्यसमितिमा निवर्तमान अध्यक्षमा समीर थापा, वरिष्ठ उपाध्यक्षमा तेज ढकाल, उपाध्यक्षमा विज्ञान श्रेष्ठ र रेष्टा झा निर्वाचित भएका छन्। त्यसै गरी शैलजा अधिकारी महासचिव, महेन्द्र कँडेल सचिव र योगेश उप्रेती कोषाध्यक्ष निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिका सदस्यहरूमा भेषराज पोखरेल, प्रवीणा थापा, लक्ष्मण पोखरेल, प्रमोद बानियाँ र अशिष ठाकुर छन्। आइप्यानको कार्य समितिले सल्लाहकार समितिको अध्यक्षमा पङ्कज जालानलाई नियुक्त गर्दै नरोत्तम अर्याल, डा. मिथिलेश झा, रीतल राणा र अर्नराज सिलवाल सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिती गठन गरेको छ।
वार्षिक साधारणसभामा आफ्ना धारणा राख्दै अध्यक्ष केसीले आइप्यानलाई अझ व्यवस्थित र पेसागत बनाउन ध्यान दिने भन्दै नेपालको गुणस्तरीय शिक्षा प्रवर्द्धनमा आइप्यानको भूमिका बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विश्वविद्यालयसँगको सहकार्यमा विश्वस्तरको शिक्षा सर्वसुलभ शुल्कमा नेपालमा नै प्रदान गर्ने र नेपालललाई पनि अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने काममा शिक्षा मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
हाल आइप्यानअन्तर्गत ५७ कलेजहरू सञ्चालनमा छन्। ती कलेजहरुमा ३४,४५८ विद्यार्थी अध्ययनरत छन्।