काठमाडाैँ - गालामा झुस्स दारी, आँखाका डिलमा टिलपिल आँसु पार्दै शितगंगा नगरपालिका-२ खरयानाका ६२ वर्षीय कृषक तुल्सीराम अधिकारी बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा छिरे। त्यहाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको हातमा १ लाख एक सय रुपैयाँको भौचर थमाए। उनले सो पैसा सोमबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेका थिए।
उनले ‘फेरी यस्तो नहोस्, म बनाउँछु सिँहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहितको ब्यानर लिएर प्रमुख जिल्ला अधिकारीकहाँ पुगेर रकम जम्मा गरेको भौचर बुझाएका हुन्। भौचर बुझाउँदा उनी ‘मेरो देश जलेर खरानी बनेको’ भन्दै रोइरहेका थिए।
‘जेन-जी आन्दोलनको क्रममा सिंहदरबार जल्दा म जल्दैछु, मेरो आस्था जल्दैछ भन्ने लाग्यो,’ अधिकारीले भने, ‘मलाई निद्रा लागेको छैन। मेरो घर जल्दा बरु फरक पर्ने थिएन, सिंहदरबार जल्दा मन रोएको छ, त्यसैले जलेका संरचना बनाउन मैले सक्दो सहयोग गरेको हुँ।’ उनी कुनै व्यवसायी, उद्योगी र जागिरे होइनन्। गाउँका किसान हुन्। उनले टिमुर खेती गरेका छन्। अहिले त्यही टिमुर, अकबरे खुर्सानी र तरकारी बेचेर बचत भएको रकमबाट उनले सिंहदरबार बनाउन सहयोग गरेका हुन्।
आन्दोलनमा सिंहदरबार जल्दा अर्बौंको नोक्सान भएको र त्यो सिंहदरबार पुरानै अवस्थामा फर्काउन कुनै विदेशी सहयोगबाट नभइ, नेपालीले गच्छेअनुसार नै सहयोग गर्नुपर्ने र नेपाली पैसाले पुनर्निर्माण गर्नुपर्ने उनको धारणा छ। ‘मेरो तर्फबाट आत्मशान्तिको लागि मैले रकम सहयोग गरेको हुँ,’ अधिकारीले भने, ‘म सुत्न सक्छु कि भनेर दिएको हुँ, धेरै कमाएर होइन, मेरो श्रमको रकम सिंहदरबारको श्रद्धाको लागि हो।’
उनले यो पैसा खुर्सानी, काँक्रा, तरकारी र टिमुर बेचेर बचत गरेको बताए । डेढ सय रोपनी क्षेत्रफल खर्यानमा टिमुर खेती र ५ रोपनीमा अकबरे खुर्सानी खेती गरेका छन्। उनले उक्त तरकारीहरु घरबाटै र धार्मिक तीर्थस्थल सुपादेउराली मन्दिर आएका भक्तजनलाई बिक्री गर्छन्।
उनले घाइतको कसरी सहयोग गर्न सकिन्छ, जलेर खरानी भएको सिंहदरबारको भवन कसरी बनाउन सकिन्छ भन्ने सोचेर सहयोग गरेको बताए। आफूले जस्तो सबै नेपालीले यस्तै सहयोग गरेमा खरानी भएका भौतिक संरचना निर्माण गर्न नयाँ सरकारलाई सहयोग पुग्ने उनको दाबी छ। ‘नेताहरुले देशको विकास भन्दा अकुत सम्पत्ति जोड्न लागे, जनताको चाहना अनुसार काम नगरेकै कारण जेन-जी आन्दोलन भयो’ उनी भन्छन्। सरकारको काम र नेताको रबैयाप्रति जनता आक्रोशित बनेको उनको भनाइ छ।
भष्टचार बढ्दै जानु र विकल्प नदिई सयौं युवाको रोजगारीसँग जोडिएको सामाजिक सञ्जाल बन्द गर्नु सरकारको अकर्मण्यता भएको उनले बताए। जेन-जी आन्दोलनको नाममा इतिहास बोकेको सिंहदरबारसहित भौतिक संरचना जलाउनु बेठीक भएको उनको तर्क छ। सत्तामा बस्दा नेताहरुले जनतालाई बिर्सने गरेकाले पुराना दलप्रति अझै पनि आक्रोश कायमै रहेको अधिकारीले बताए।