काठमाडाैँ - थापाथलीस्थित द ब्रिटिस कलेजले विद्यार्थीको पठनपाठन तथा शैक्षिक गतिविधिमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै सबै पक्षलाई जिम्मेबार बन्न आग्रह गरेको छ। मंगलबार कलेजमा विद्यार्थीको एउटा समूहले वाह्य पक्षको सहयोगमा तोडफोड गरेको विषयलाई लिएर कलेजले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त कलेजविरुद्ध कुनै समूहले भ्रम फैलाएर प्रतिष्ठामा आँच पुग्ने गतिविधि गरेको भन्दै गम्भीर बन्न सबै पक्षसँग कलेजले आग्रह गरेको छ। साथै विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनामा विश्वास नगर्न कलेजले भनेको छ। ‘गुणस्तरीय शिक्षा प्रदान गर्न तथा विद्यार्थीलाई रचनात्मक र जिम्मेबार सहयोग गर्न कलेज पूर्ण रुपमा प्रतिबद्ध छ’ जारी विज्ञप्तिमा उल्लेछ।
कलेजमा सञ्चालन हुने फाउन्डेसन कार्यक्रम अन्तर्राष्ट्रिय मान्यताप्राप्त शैक्षिक कार्यक्रम हो। जुन कार्यक्रमअन्तर्गत ‘हाइयर नेसनल डिप्लोमा’ (एचएनडी) का लागि कलेजले हस्पिटालिटी म्यानेजमेन्ट (एचएम) का विद्यार्थीलाई दुबईमा सिप विकास तथा अभिवृद्धिका लागि अवसर प्रदान गर्दछ। एचएनडी पूरा भएपछि लेभल ६ पढाइका लागि दुबई, बेलायत वा अष्ट्रेलियास्थित साझेदार विश्वविद्यालय वा शिक्षण संस्थामा अध्ययन गर्न सक्ने व्यवस्था कलेजले मिलाएको हुन्छ।
एचएनडी अध्ययनका लागि दुबई जाने विद्यार्थीलाई प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायक मार्फत अस्थायी आवासको व्यवस्था हुन्छ। यी व्यवस्था छोटो अवधिका लागि मात्र हुनेगरी सम्झौता गरिएको हुन्छ।दीर्घकालीन आवासको व्यवस्था विद्यार्थी आफैले गर्नुपर्ने हुन्छ, जुन अन्तर्राष्ट्रिय अध्ययन तथा आवागमनका सामान्य अभ्यास हो।
सोही कार्यक्रमअन्तर्गत दुबई गएका एचएमका ५१ विद्यार्थीमध्ये ९ जना असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएका थिए। ती विद्यार्थी नेपाल फर्किएपछि विद्यार्थी र अभिभावकसँग यसबारे छलफल भएको कलेजले जनाएको छ। फर्किएका ती ९ जना विद्यार्थीको पनि शैक्षिक हित सुनिश्चित गर्नेगरी सहकार्य गर्ने पक्षमा कलेज हुँदाहुँदै पनि मंगलबार वाह्य पक्षको सहयोगमा तोडफोड गरिएको कलेजले जनाएको छ।‘विद्यार्थी असन्तुष्ट रहेको अवगत थियो, समस्या समाधानका लागि अभिभावकसँग सम्वाद भइरहेको थियो’ कलेजले विज्ञप्तिमा भनेको छ,‘तर कलेजबाहिरका व्यक्तिको संलग्नतामा कार्यालयमा तोडफोड गर्ने, भ्रामक भिडियो सार्वजनिक गर्नेजस्ता गतिविधि भएपछि सुरक्षा निकायको सहयोग लिइएको हो।’ धेरै पटक सम्वादको लागि बोलाउँदा पनि विद्यार्थीले सम्वादलाई बेवास्ता गरिरहेको कलेजले दाबी गरेको छ।
‘विद्यार्थीको हित, सुरक्षा, मर्यादा र समग्र विकासका लागि द ब्रिटिस कलेजको प्रमुख प्राथमिकता हो। कलेजले सबै विद्यार्थीलाई सुरक्षित, सम्मानजनक र सहयोगी शैक्षिक वातावरण प्रदान गर्न निरन्तर प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तिमार्फत कलेजले भनेको छ ‘कुनै पनि अवस्थामा विद्यार्थीमा मानसिक, शैक्षिक, व्यवहारिक वा व्यक्तिगत समस्या देखा परेमा, कलेजले सम्बन्धित विद्यार्थीको गोपनीयता, आत्मसम्मान र कानुनी अधिकारलाई पूर्ण सम्मान गर्दै आवश्यक सहयोग उपलब्ध गराउँछ।’