काठमाडौँ - नाट मिस एअर हाेस्टेस सिजन - ३ काे उपाधि रितिका सुनारले प्राप्त गरेकी छन्। NAAT Aviation Academy द्वारा आयोजित Yeti Airlines Presents NAAT Miss Airhostess International Season 3 को ग्रान्ड फिनाले १२ माघ १२ गते सोमबारका दिन राष्ट्रिय नाचघर जमलमा आयाेजना गरिएकाे हाे। विजेता सुनारले यति एयरलाइन्समा 'केबिन क्रु' काे राेजगारीकाे अवसर समेत प्राप्त गरेकी छन्।
प्रतियोगितामा रितिका सुनार यस सिजनकी विजेता घोषित हुँदै मोस्ट ट्यालेन्ट उपाधि समेत प्राप्त गर्न सफल भइन्। विजेताको रूपमा उनले यति एयरलाइन्समा केबिन क्रु पदमा रोजगारी पाउने ग्राण्ड प्राइज हात पारिन्। उक्त अवसरको औपचारिक घोषणा तथा नियुक्ति पत्र यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत (Chief of Safety) श्री सन्त प्रजापतिले प्रदान गरेका छन्।
त्यस्तै, शर्मिला कुमारी प्रथम उपविजेता घोषित हुँदै सर्वोत्कृष्ट व्यक्तित्व उपाधि प्राप्त गर्न सफल भइन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार तथा सर्वोत्कृष्ट क्याटवाक उपाधि जित्न सफल भइन्।
यसैगरी रितु चौधरीले सर्वाधिक लोकप्रिय तथा मल्टिमिडिया छनोट पुरस्कार दुवै उपाधि जितिन्। सुजाता जमकटेलले सर्वोत्कृष्ट शारीरिक बनावट उपाधि प्राप्त गरिन् भने परिमा गुरुङले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि हात पारिन्।

कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर श्री लभिन अन्सारीद्वारा केबिन क्रु पेशासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्री सुधन सुबेदी थिए भने निर्णायक मण्डलमा समर्पण जंग कार्की (Mr. Nepal 2023 तथा बुद्ध एयरका पाइलट), ईभा जैसवाल (Etihad Airways की अन्तर्राष्ट्रिय केबिन क्रु), अनिता खड्का (अन्तर्राष्ट्रिय पेजेन्ट विजेता तथा मनोवैज्ञानिक) तथा रचना सुनार (यति एयरलाइन्सकी प्रमुख केबिन क्रु) रहेका थिए।
NAAT Aviation Academy का प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डेले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताउँदै सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार व्यक्त गरेका थिए।