काठमाडौँ - ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ कलेज काठमाडौँको कोटेश्वरमा सञ्चालनमा आएको छ। फेसन तथा इन्टेरियर डिजाइनिङकाे क्षेत्रमा विगत एक दशकदेखि काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ कलेज सञ्चालनमा ल्याएको हो।
सन र इन्टेरियर डिजाइनमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ रूपमा व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको सञ्चालिका सुक्निता चौलागाईंले जानकारी दिइन्। यसका लागि एकवर्षे डिप्लोमा कोर्स तयार पारिएको छ।

‘मेरो आफ्नै पनि फेसन डिजाइनमा एक दशकको अनुभव छ। नेपालमा प्राक्टिकल्ली फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेज कम छन्। हामीले लन्च गरेको एकवर्षे कोर्सले युथहरूलाई आफ्नो एकेडेमिक पढाइलाई असर नपर्नेगरी आफ्नो सपना पूरा गर्न मद्दत पुर्याउँछ भन्ने हो,’ चौलागाईंले भनिन्, ‘फेसन कलेज हाम्रो ड्रिम प्रोजेक्ट हो। युवाहरूको सपना पूरा गर्न सकिन्छ भन्ने उद्देश्य पनि हो।'
कलेजमा फेसन डिजाइनिङ, बुटिक म्यानेजमेन्ट, ड्रपिङ एन्ड स्टिचिङ, स्टाइलिङ लगायत छुट्टाछुट्टै कोर्स तयार पारिएको छ। त्यसका लागि उत्कृष्ट शिक्षक तथा डिजाइनरहरूले सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षा लिनेछन्। यो कोर्स अध्ययन गर्ने विद्यार्थीले फेसन डिजाइनर, बुटिक सञ्चालक, स्टाइलिस्ट र प्याटर्न मेकरको रूपमा करिअर अगाडि बढाउन सक्ने चौलागाईं बताइन्।

‘अहिले नेपालीहरूमा फेसन सेन्स निकै बढेको छ। सेलेब्रिटी कलाकार मात्रै होइन, नेतादेखि सर्वसाधारणसम्मलाई राम्रो र स्मार्ट देखिने चाहना बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसले पनि फेसन डिजाइनिङको क्षेत्रमा करिअर कति फराकिलो छ भन्ने देखाउँछ।’
चौलागाईंले कोटेश्वरमै आठ वर्षदेखि ‘भ्यालेन्टिनो द बुटिक’ सञ्चालन गरिरहेकी छिन् । उनले डिजाइन गरेका पहिरनहरू र्याम्प, नेपाली फिल्म र म्युजिक भिडियोमा निकै रूचाइएका छन्।
