विराटनगर- कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक कानुन विषयको स्नातक तह (३ वर्षे एलएलबी) अध्ययन–अध्यापन सुरु हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको डिग्री क्याम्पस, विराटनगरले आगामी शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष प्रितम साहका अनुसार विद्यार्थीहरूको लामो समयदेखिको पहल र निरन्तर प्रयासपछि क्याम्पसले त्रिविबाट कानुन सङ्काय सञ्चालनको ऐतिहासिक अनुमति प्राप्त गरेको हो। यससँगै डिग्री क्याम्पस, विराटनगर त्रिवि अन्तर्गत एलएलबी पढाइ हुने त्यहाँको एक मात्र क्याम्पस बनेको छ।
त्रिभुवन विश्वविद्यालय, कानुन सङ्कायको डीन कार्यालय (बल्खु) ले शैक्षिक सत्र २०८२/०८३ का लागि एलएलबी प्रथम वर्षको प्रवेश परीक्षासम्बन्धी सूचना प्रकाशित गरिसकेको छ। सो सूचनाअनुसार डिग्री क्याम्पस, विराटनगरका लागि ३०० सिट निर्धारण गरिएको छ। कानुन अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आगामी चैत ३० गतेदेखि अनलाइनमार्फत प्रवेश परीक्षाको आवेदन दिन सक्नेछन्।
विराटनगरमै कानुन अध्ययनको अवसर जुटाउन विद्यार्थीहरूले लामो समयदेखि विश्वविद्यालय तथा सरोकारवाला निकायसँग निरन्तर पहल गर्दै आएका थिए। आफ्नो प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष साहले भने, यो केवल नयाँ कोर्स सुरु हुनु मात्र होइन, विराटनगर र समग्र कोशी प्रदेशका विद्यार्थीका लागि ठूलो अवसरको ढोका खुलेको हो।
क्याम्पस प्रशासनका अनुसार कानुन सङ्काय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा प्राज्ञिक जनशक्ति तयारी अवस्थामा छन्। क्याम्पस प्रमुख ढकबहादुर मगरले यसलाई प्रदेशकै महत्वपूर्ण शैक्षिक उपलब्धि भएको उल्लेख गर्दै भने, अब कानुन पढ्नका लागि काठमाडौँ वा धरान जानुपर्ने बाध्यता अन्त्य भएको छ।