काठमाडाैँ- ललितपुरको बालकुमारीस्थित काठमाडौँ मोडेल सेकेण्डरी स्कूल (केएमसी) ललितपुरले शैक्षिक गुणस्तर, उत्कृष्ट नतिजा र आधुनिक पूर्वाधारका कारण आफूलाई अग्रणी शिक्षण संस्थाका रूपमा स्थापित गराएको छ। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन विषयको अध्यापन हुँदै आएको छ।
विद्यालयमा हाल ४२ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत रहेका छन्। ३५६१ वर्ग मिटर क्षेत्रफलमा फैलिएको विद्यालयमा चार तले ३ वटा र दुई तले २ वटा आधुनिक तथा भूकम्प प्रतिरोधात्मक भवन रहेका छन्। कुल ५१ वटा कक्षाकोठा सहित प्रत्येक कक्षामा करिब ४० विद्यार्थीलाई सहज रूपमा अध्ययन गराउन सकिने व्यवस्था विद्यालयमा रहेको छ। विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि नेतृत्व विकास तालिम, वादविवाद,वक्तृत्वकला,खेलकुद,विज्ञान प्रदर्शनी, सामाजिक सेवा कार्यक्रम,ट्यालेन्ट हन्ट,स्पेलिङ बी,म्याथ ओलम्पियाड,मोडेल पार्लियामेन्ट, मुट कोर्ट लगायत विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।
शैक्षिक उपलब्धिको हिसाबले पनि विद्यालयले उत्कृष्ट नतिजा कायम गर्दै आएको छ। विगत तीन वर्षमा ९७ प्रतिशतसम्म नतिजा प्राप्त भएको विद्यालयले जनाएको छ। नियमिततर्फ कक्षा १२ को नतिजामा २०७९ मा ९७.२०%, २०८० मा ९७.०५% र २०८१ मा ९७.६५% विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयमा विद्यार्थीको संख्यामा पनि हरेक वर्ष वृद्धि हुँदै गएको छ। कक्षा ११ मा २०८० मा ४५५, २०८१ मा ४६९ र २०८२ मा ४७६ विद्यार्थी अध्ययनरत छन्। कक्षा १२ सहित विद्यालयमा कुल विद्यार्थी संख्या ९४५ रहेको छ।विभिन्न प्रतियोगितासँगै अन्तरविद्यालय प्रतियोगितामा समेत विद्यालयले विभिन्न उपलब्धि हासिल गरेको छ। २०८१ मा महालक्ष्मी नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने प्रथम विद्यालय पुरस्कार तथा २०७४/७५ मा प्रधानमन्त्रीबाट उत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गरेको छ।
विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ,कानुन, चार्टर्ड अकाउन्टेन्सी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्राचार्य मुकुन्द कुमार गिरीले अनुभवी शिक्षक,अनुशासित वातावरण,आधुनिक शिक्षण पद्धति,पर्याप्त भौतिक पूर्वाधार र सृजनात्मक क्रियाकलापका कारण अभिभावक र विद्यार्थीको पहिलो रोजाइको विद्यालय बन्न सफल भएको बताए।
उनले विद्यालयले तयारी कक्षा समेत सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यालयले प्रदान गर्ने समावेशी वातावरण, प्रविधिमैत्री शिक्षण पद्धति र व्यावहारिक सीपमा केन्द्रित कार्यक्रमहरूले विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयको दाबी छ।