काठमाडौँ- काठमाडौँको मुख्य केन्द्र माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेज विद्यार्थी तथा अभिभावको पहिलो रोजाईमा पर्ने गरेको छ। विज्ञान विषय तर्फ विद्यार्थीकोे पहिलो रोजाइको शैक्षिक गन्तव्यको रुपमा ‘सेन्ट जेभियर्स कलेज’ पर्ने गरेको छ।
यस कलेजले कक्षा १० उत्तीर्ण गरी कक्षा ११ मा विज्ञान संकाय तर्फका विषय अध्ययन गर्न चाहने ५ सय जना विद्यार्थी भर्ना गर्ने गरेको छ। कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस कलेजको विगत ३ वर्षको नतिजा ९९ प्रतिशत रहेको छ।
यस कलेजमा कक्षा ११ र १२ मा १३० जना शिक्षक र कर्मचारी कार्यरत छन्। यस कलेजको ३ वटा भवन रहेको छ भने ६ हजार वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। कलेजले विद्यार्थीका लागि विज्ञान र सूचना प्रविधि प्रयोगशालाको व्यवस्था गरेको छ भने कलेजमा प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, विषयगत ल्याब र चमेना गृहको पनि व्यवस्था रहेको छ। कलेजले अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ।यस कलेजका विद्यार्थीले राष्ट्रिय तहमा मेडिकल, ईन्जिनियरिङ र कृषि विश्वविद्यालय र अन्तर्राष्ट्रिय रुपमा एमआईटी, स्टानफोर्ड, प्रिन्सटन, ब्रेन्ट स्मिथ राइस जस्ता विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।
त्यस्तै यस कलेजका विद्यार्थीले गणित, भौतिक शास्त्र, जैविक शास्त्र लगायतका राष्ट्रिय तथा अन्तराराष्ट्रिय ओलम्पियाडहरुमा पुरस्कार प्राप्त गर्न सफल भएका छन। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी अन्तर विद्यालय स्तरका विभिन्न प्रतियोगितामा समेत उत्कृष्टता हासिल गर्न सफल भएका छन्।
यस कलेजले शिक्षक र विद्यार्थी केन्द्रित कम्प्युटर, फिजिक्स, म्याथ, केमेस्ट्रि ओलम्पियाड र साइन्स फेस्ट जस्ता कार्यक्रम सञ्चालन गर्दे आएको छ। विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान दिनु यस कलेजको फरक विशेषता हो। उत्कृष्ट शैक्षिक उपलब्धि, अन्तर्राराष्ट्रिय स्तरमा शैक्षिक अनुभव र सहभागिता, अनुभवी र दक्ष शिक्षक, आधुनिक प्रयोगशाला रहेको यस कलेजले आधुनिक शिक्षा प्रदान गर्दे आएका कारण विद्यार्थी र अभिभावकको रोजाइमा यस कलेज पर्ने गरेको छ।