काठमाडाैँ- गुल्मीका एक शिक्षकले शिक्षण पेसासँगै कृषिकर्मबाट लोभलाग्दो आम्दानी गरेका छन्। कालीगण्डकी गाउँपालिका-२, अर्बेनीका ३८ वर्षीय लक्ष्मीपति न्यौपानेले किवि खेतिबाट बर्षेनी लाखाैँ आम्दानी गर्दै आएका छन्।
कालीगण्डकी-१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहतमा रही अध्यापन गर्दै आएका लक्ष्मी शिक्षणपेसासँगै कृषि कर्ममा रमाएका छन्। कृषि पेसाबाटै उनले वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन्। न्यौपानेले २०७१ सालमा दुर्गादेवी मत्स्यपालन तथा तरकारी कृषि फार्म दर्ता गरेका थिए। उनले १४ रोपनी जग्गामा ताजा तरकारी, काउली, सिमी, अकबरे खुर्सानी लगाएका छन्।
यसका साथै १६ रोपनी जग्गा लिजमा लिई लगाएका ६५० वटा किवीका बिरुवाले उत्पादन दिन थालेका छन्। किवी बिक्रीबाटै १५ लाख आम्दानी गरेको उनले जानकारी दिए। यस्तै केही जग्गा लिजमा र आफ्नै गरी करिब ६० रोपनी जग्गामा एक हजार छ सयभन्दा बढी सुन्तलाका बिरुवा छन्। करिब आठ सय बिरुवाले राम्रो उत्पादन दिएको न्यौपानेले बताए।
यस वर्ष करिब एक सय क्विन्टल सुन्तला बेचेको उनको भनाइ छ। उनले सुन्तलाबाटै करिब सात लाख रुपियाँ आम्दानी गरेका थिए। प्रतिकेजी ६५ भन्दा बढीमा सुन्तला बिक्री गरेको उनकाे भनाइ छ।
बिहान, साँझ र बिदाको दिन सदुपयोग गर्दै आफैँ बारीमा खट्ने गरेको उनले बताए। नियमित रूपमा नभई आवश्यकताका आधारमा दैनिक ज्यालादारीमा कामदार लगाउने गरेको न्यौपानेकाे भनाइ छ। कृषिकर्मबाट नेपालमै केही गर्नु पर्छ भन्ने उद्देश्यलाई श्रीमतीको राम्रो साथ रहेकाले आफू अहिले यहाँसम्म आउन सकेको उनले बताए। श्रीमान्ले गर्न लागेको कामलाई आफूले सक्दो सहयोग गर्दै आएको र कृषिकर्मको रेखदेख गर्दै आएको श्रीमती सिर्जना न्यौपानेले बताइन्।
हर्मिचौर, अर्बेनीमा कुनै विवाह, व्रतबन्ध र पूजाआजा भएमा तरकारीको माग सिधै आउने भएकाले घरमै पु-याइदिने गरेको न्यौपानेकाे भनाइ छ। उनले गरेको कृषिकर्मलाई हेर्न जिल्ला र जिल्लाबाहिरबाट पनि कृषक र कार्यालयका अधिकारी जाने गरेका छन्। फार्मलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रबाट पनि राम्रो सहयोग मिलेको न्यौपानेले बताए।