काठमाडौँ - युनिग्लोब कलेज, कमलादीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयलाई डेस्क–बेन्च सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले कलेजले ८८ जना विद्यार्थी बस्न मिल्ने २० सेट डेस्क–बेन्च हस्तान्तरण गरेको हो। सहयोग सामग्रीको मूल्य करिब दुई लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
युनिग्लोब माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा कलेजका पदाधिकारीहरूले उक्त सामग्री विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका थिए।
सहयोग ग्रहण गर्दै विजय स्मारक माध्यमिक विद्यालयका प्राचार्य माधवप्रसाद ओलीले युनिग्लोब कलेजप्रति आभार व्यक्त गर्दै विद्यालयमा पर्याप्त बस्ने व्यवस्था अभाव भइरहेका बेला प्राप्त सहयोगले शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विद्यालयहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माणमा योगदान पुर्याएको भन्दै विद्यालयका अङ्ग्रेजी शिक्षक विराट चौलागाईंको समेत प्रशंसा गर्नुभयो।
कार्यक्रममा बोल्दै युनिग्लोब कलेजका जनरल म्यानेजर गणेश भट्टले सामाजिक उत्तरदायित्वलाई कलेजले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो। समुदायका विद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो।
त्यसैगरी, कलेजका इन्स्टिच्युसनल अफेयर्स हेड बसन्त घिमिरेले सार्वजनिक र निजी विद्यालयबीच सहकार्य र साझेदारीको संस्कृति विकास हुनुपर्नेमा जोड दिनुभयो। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुवै क्षेत्रबीच अनुभव आदानप्रदान र रचनात्मक सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
नयाँ डेस्क–बेन्च प्राप्त भएसँगै विजय स्मारक माध्यमिक विद्यालयका ८८ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने र कक्षाकोठाको वातावरण थप व्यवस्थित तथा आकर्षक बन्ने अपेक्षा गरिएको छ।