काठमाडौँ- सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ब्रोडवे इन्फोसिसको सहकार्यमा ‘सफ्टवेरिका करियर फेयर २०२६’ तथा ‘होमकमिङ अलुम्नाई मिट’ सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौँस्थित म्यारियट होटलमा आयोजित कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, रोजगारदाता तथा प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिभा, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर प्रविधि शिक्षालाई उद्योगको वास्तविक आवश्यकतासँग जोड्ने लक्ष्य सहित आयोजना गरिएको कार्यक्रमले नेपालमा शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नयाँ मानक स्थापित गरेको कलेजको दाबी छ।
करियर फेयरमा २० भन्दा बढी प्रतिष्ठित प्रविधि कम्पनीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी संस्थाहरूमा पाम माइन्ड टेक्नोलोजिज, इन्फर्मेशन केयर, बिभूति सोलुसन्स, टेक बकेट, आइस्टेम ल्याब, कोडअवतार टेक, मन्त्र आइडियाज, इन्फोडेभलपर्स र फुडमाण्डुलगायत रहेका थिए।
मेलामा ४०० भन्दा बढी विद्यार्थी तथा सहभागीहरूले रोजगारदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेका थिए। सफ्टवेयर विकास, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा डाटा साइन्सजस्ता क्षेत्रमा ८० भन्दा बढी विद्यार्थीले रोजगारी तथा इन्टर्नसिपका अवसर हासिल गरेको कलेजले जनाएको छ।
कलेजले आफ्नो १६ वर्षे इतिहासमा पहिलोपटक ‘होमकमिङ अलुम्नाई मिट’ आयोजना गरेको थियो। कार्यक्रममा ४०० भन्दा बढी पूर्वविद्यार्थीहरूको सहभागि थिए। कलेजका अध्यक्ष विज्ञान श्रेष्ठ र क्याम्पस प्रमुख प्रमोद पौडेलले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा पूर्वविद्यार्थीहरूले आफ्नो व्यावसायिक यात्रा,अनुभव तथा सफलताका कथाहरू साझा गरेका थिए। विशेष वक्ताका रूपमा नवनेक्सा टेकका संस्थापक धिरेन लामा तथा दियालो टेक्नोलोजिजकी लिड यूआई/यूएक्स डिजाइनर अस्तिका गुरुङले अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रका अवसर र चुनौतीबारे धारणा राख्दै विद्यार्थीहरूलाई व्यवहारिक सीप विकासमा जोड दिन सुझाव दिएका थिए।
कार्यक्रमकै अवसरमा ‘इन्डस्ट्री एड्भाइजरी बोर्ड’ को औपचारिक शुभारम्भ पनि गरिएको छ। शैक्षिक पाठ्यक्रमलाई उद्योगको आवश्यकता अनुरूप अद्यावधिक गर्न गठित बोर्डमा टेकक्राफ्ट इन्कका सन्तोष कोइराला, डिशहोमका मनोजध्वज केसी, राष्ट्रिय आविष्कार केन्द्रका सञ्जय पौडेल तथा फिनटेक अलाएन्स नेपालका आशिष कुमार शर्मा सदस्य रहेका छन्। बोर्डका सदस्यहरूले प्रविधिको तीव्र परिवर्तन र श्रम बजारको मागलाई शैक्षिक अनुसन्धान तथा शिक्षण प्रणालीसँग प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसै अवसरमा सफ्टवेरिका कलेज र बेलायतस्थित इन्स्टिच्युट अफ एनालिटिक्स बीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ। एनालिटिक्सकी ग्लोबल कमर्शियल निर्देशक ओल्गा साराको उपस्थितिमा सम्पन्न सम्झौताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको एआई तथा एनालिटिक्स शिक्षामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।