काठमाडौँ- ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टिबिसी) ले बेलायतस्थित ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ।
कलेजका अनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ। द ब्रिटिस कलेज नेपालमा बीएसीबाट मान्यता प्राप्त गर्ने पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्था रहेको दाबी गरिएको छ।
मान्यता नवीकरणका क्रममा बेलायतबाट आएको निरीक्षण टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत विभिन्न पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो।
बीएसी मान्यता प्राप्त गर्न संस्थाले सुशासन तथा रणनीतिक व्यवस्थापन, वित्तीय प्रशासन, शैक्षिक तथा प्रशासनिक सञ्चालन, शिक्षण तथा मूल्याङ्कन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन, र गुणस्तर व्यवस्थापन तथा सुधारसम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले प्राप्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए।
उनले भने, यो उपलब्धिले विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षा तथा शैक्षिक उत्कृष्टता हाम्रो प्राथमिकतामा रहेको थप विश्वास दिलाएको छ।
ब्रिटिस एजुकेशन ग्रुप तथा द ब्रिटिस कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय असल अभ्यासलाई थप आत्मसात् गर्दै नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
बीएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले बीएसी मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनका क्षेत्रमा संस्थाले स्वतन्त्र र कठोर मूल्याङ्कन सफलतापूर्वक पार गरेको प्रमाणित गर्ने बताइन्। उनले सन् २०२१ देखि बीएसी मान्यता प्राप्त द ब्रिटिस कलेजलाई पुनः मान्यता प्राप्त गरेकोमा बधाईसमेत दिएकी छन्।
द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, उद्योग क्षेत्रसँगको सहकार्य र विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो विशिष्ट पहिचान स्थापित गरेको कलेजको भनाइ छ।
कलेजले प्राप्त गरेको पछिल्लो अन्तर्राष्ट्रिय मान्यताले विद्यार्थी, अभिभावक, रोजगारदाता तथा शैक्षिक साझेदारहरूबीच संस्थाप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरेको छ। साथै, हालै केही समूहबाट फैलाइएका भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त गर्न सफल भएको पनि कलेजले जनाएको छ।