काठमाडौँ- युवा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास, सकारात्मक सोचको प्रवर्द्धन तथा उद्यमशीलताको भावना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ।
परिवर्तनका लागि युवा (युथ फर चेन्ज), मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) र इन डेप्थ स्टोरी (आइडिएस) को संयुक्त आयोजनामा आगामी असार १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव सञ्चालन गरिने भएको हो। मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सह-संस्थापक आर.के. दाहालका अनुसार कार्यक्रमले युवालाई प्रेरणा, मार्गदर्शन र अवसरको खोजीमा सहयोग पुर्याउने लक्ष्य लिएको छ।
महोत्सवमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, उद्योगपति डा. उपेन्द्र महतो, व्यवसायी हेमराज ढकाल, हास्यकलाकार मनोज गजुरेल, पत्रकार रुपेश श्रेष्ठ, राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा तथा प्रविधि उद्यमी प्रतिमा अधिकारीलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

वक्ताहरूले आफ्ना जीवनका अनुभव, संघर्ष र सफलताका कथामार्फत नेपालमै अवसर सिर्जना गर्न सकिने सन्देश दिने आयोजकले जनाएको छ। कार्यक्रममा गायक कुमार सागर, ख्वप ब्यान्ड तथा पाहेलो बत्ती मुनि ब्यान्डको सांगीतिक प्रस्तुति समेत रहनेछ।
कार्यक्रम संयोजक तथा युथ फर चेन्जका अध्यक्ष हिमाल विष्टले युवाहरूमा सकारात्मक ऊर्जा र आशा जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार आफ्नै देशमा ज्ञान, सीप र क्षमताको उपयोग गर्दै सफल भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास युवामाझ स्थापित गर्नु कार्यक्रमको प्रमुख लक्ष्य हो।
यसअघि सम्पन्न पहिलो र दोस्रो संस्करणबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा युवाहरूको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।
विशेषगरी कक्षा १२ पूरा गरी उच्च शिक्षाको यात्राको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम पूर्णतः निःशुल्क हुनेछ। इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत नाम दर्ता गरी कार्यक्रममा सहभागी हुन सक्नेछन्।