काठमाडौँ - उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षासँग एकीकृत गर्न आवश्यक रहेको बताए।
शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले डिजिटल शिक्षाको विस्तारमार्फत त्यसको परिपूर्ति गर्नुपर्ने धारणा राखे। उनका अनुसार शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम नभई अनुशासन, अनुसन्धान, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार हुनुपर्छ।
शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ। बहुजातीय समाजमा शिक्षा नै सद्भावको आधार हो। राष्ट्र निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका छ। भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ, उनले भने।
उपराष्ट्रपति यादवले युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षा प्रणालीले सहयोग गर्नुपर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षामा विशेष जोड दिन आग्रह गरे। शिक्षकलाई राष्ट्र निर्माणका अभियन्ताका रूपमा चित्रण गर्दै उनले विश्वविद्यालयहरूलाई अनुसन्धान र नवप्रवर्तनका केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सबैका लागि सहज, सुलभ र गुणस्तरीय शिक्षा उपलब्ध गराउने अभियानलाई कलेजले निरन्तरता दिएको बताए। उनले आगामी दिनमा कलेजलाई अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।