काठमाडौँ- एकेडेमिया इन्टरनेसनल कलेजले ‘दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कलेजको अनुसन्धान व्यवस्थापन कक्षको आयोजनामा सम्पन्न एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक विश्लेषण, ब्लकचेन, क्लाउड कम्प्युटिङ, वित्तीय प्रविधि (फिनटेक), साइबर सुरक्षा तथा डिजिटल सुशासनजस्ता आधुनिक प्रविधिले वित्तीय व्यवस्थापनमा पारिरहेको प्रभावबारे विस्तृत छलफल गरिएको थियो। साथै, यी प्रविधिलाई दिगो वित्तीय अभ्याससँग एकीकृत गर्दै पारदर्शी, प्रभावकारी, उत्तरदायी र समावेशी वित्तीय प्रणाली निर्माण गर्नुपर्ने आवश्यकतामा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रम उद्घाटन, मन्तव्य, प्राविधिक अनुसन्धानपत्र प्रस्तुति तथा समापन सत्र गरी चार चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष बोबी प्रधान, क्याम्पस प्रमुख राजेश प्रसाद श्रेष्ठ, सञ्चालक समिति सदस्य धर्म महाराजन लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथिका रूपमा अमेरिकास्थित क्रिस्टोफर न्युपोर्ट विश्वविद्यालयका प्रा.डा. ज्ञान प्रधान तथा ललितपुर महानगरपालिका–७ का वडाध्यक्ष कुलबहादुर महर्जन सहभागी भएका थिए। अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. राजन विलास बज्राचार्य विशेष अतिथिका रूपमा उपस्थित थिए।उद्घाटन समारोहको सञ्चालन कलेजका शैक्षिक प्रमुख विश्व माथेमाले गरेका थिए।