काठमाडौँ - स्वास्थ्य सेवा व्यवस्थापनलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउने उद्देश्यसहित नेसनल ओपन कलेजको १३औँ राष्ट्रिय सम्मेलन चारबुँदे महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
होटल हिमालयमा आयोजित सम्मेलनमा नेपाल र भारतका १६ जना विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध पक्षमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए। कलेजका अनुसन्धान तथा विकास विभाग प्रमुख रिमप्रसाद हुमागाईँका अनुसार सम्मेलनको उद्घाटन भारतको आईआईएचएमआर दिल्लीका निर्देशक प्रा.डा. सुतपा बन्द्योपाध्यायले गरेका थिए।
सम्मेलनमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, मधेश विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयका डिनहरू, विभिन्न अस्पतालका प्रमुख तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रा.डा. तेज कार्कीले ‘स्वस्थ सहर’, महेन्द्र भुसालले ‘अस्पताल आयोजना’, इन्जिनियर महेश नकर्मीले ‘फोहोर व्यवस्थापन’ तथा इन्जिनियर कपिल गौतमले ‘क्यान्सरजन्य फोहोर व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
त्यसैगरी डा. राम थापाले स्वास्थ्य बिमा, डा. तुला गुप्ताले स्वास्थ्य जनशक्ति, डा. सुवास श्रेष्ठले औषधि व्यवस्थापनका विषयमा प्रस्तुति दिएका थिए। साथै मिलन गुरुङ, डा. यज्ञ तिमिल्सिना, प्रा.डा. सुतपा बन्द्योपाध्याय, प्रा.डा. पुनित, प्रा.डा. निधिलगायतले स्वास्थ्य सेवा व्यवस्थापनका विभिन्न समसामयिक विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए।
सम्मेलनले स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रको दीर्घकालीन सुधारका लागि चारबुँदे प्रस्ताव पारित गरेको छ। प्रस्तावमा सरकारी विश्वविद्यालयहरूमा बीएचसीएम, एमएचसीएम, पीजीडीएचसीएम र पीएचडी तहका स्वास्थ्य व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्ने, सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा स्वास्थ्य व्यवस्थापन विषयमा स्नातक गरेका जनशक्तिको अनिवार्य नियुक्ति गर्नुपर्ने, नेपाल, भारत तथा अन्तर्राष्ट्रिय संस्थासँग ‘टुगेदर फर हेल्थ’ अवधारणाअनुसार सहकार्य विस्तार गर्नुपर्ने तथा स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी छुट्टै परिषद् गठन गरी अध्ययन, सेवा, नियुक्ति र पदोन्नतिलाई वैज्ञानिक आधारमा व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ। सम्मेलनको समापन काठमाडौँ विश्वविद्यालय, चिकित्साशास्त्र संकायका डिन प्रा.डा. मनोज हुमागाईंको प्रमुख आतिथ्यमा भएको थियो। आयोजकले आगामी वर्ष १४औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ।
यसैबीच, असार २१ र २२ गते नेसनल ओपन कलेजमा ‘हेल्थकेयर अपरेसन म्यानेजमेन्ट’ विषयक दुईदिने कार्यशाला सञ्चालन गरिएको थियो। ४० जना सहभागी रहेको उक्त कार्यशालामा प्रा.डा. पुनित, डा. निधि, सहप्राध्यापक कपिल गौतम, सहप्राध्यापक मिलन गुरुङ तथा सहप्राध्यापक इन्द्रकुमार श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए।



