काठमाडौँ - नेपालभर सञ्चालनमा रहेका ५५० भन्दा बढी सामुदायिक क्याम्पसहरूको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघले आफ्नो ३६औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक क्याम्पसहरूले नेपालको उच्च शिक्षाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै तिनको संस्थागत सुदृढीकरणका लागि राज्यले थप प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा. भोला थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थराज खनियाँ, डा. दीपक अर्याल, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति तथा संघका पूर्व अध्यक्ष डा. प्रेमनारायण अर्याल, विश्वविद्यालय अनुदान आयोगका कार्यवाहक सदस्य–सचिव डा. केदार आचार्य, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. लक्ष्मण पौडेललगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. भोला थापाले सीमित स्रोत–साधनका बाबजुद सामुदायिक क्याम्पसहरूले उच्च शिक्षाको पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन र सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्याएको बताए। वक्ताहरूले सामुदायिक क्याम्पसहरू उच्च शिक्षामा पहुँच विस्तारसँगै सामाजिक न्याय र समावेशी शिक्षाको सशक्त माध्यम बनेको उल्लेख गर्दै नीतिगत, प्राविधिक तथा वित्तीय सहयोग बढाउन सरकारसँग आग्रह गरेका थिए।
कार्यक्रमका अवसरमा त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने चार सामुदायिक क्याम्पसलाई सम्मान गरिएको थियो। मानविकी संकायतर्फ काठमाडौंको मदन भण्डारी मेमोरियल कलेज, विज्ञान शिक्षातर्फ भक्तपुरको ख्वप कलेज, शिक्षा संकायतर्फ मोरङको सुकुना बहुमुखी क्याम्पस तथा व्यवस्थापन संकायतर्फ मकवानपुर बहुमुखी क्याम्पस सम्मानित भएका हुन्। ती क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई प्रशंसापत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, उच्च शिक्षाको विकास र विश्वविद्यालय सुधारमा योगदान पुर्याएको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थराज खनियाँ तथा डा. दीपक अर्याललाई विशेष सम्मान प्रदान गरिएको थियो।
संघका अध्यक्ष गुप्ताले देशभरका ५५० भन्दा बढी सामुदायिक क्याम्पसमा नेपालको कुल उच्च शिक्षा भर्नामध्ये करिब एक तिहाइ विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै सामुदायिक क्याम्पसलाई राष्ट्रिय शिक्षा नीतिमा थप प्रभावकारी रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याए।
सामुदायिक क्याम्पसहरूको दिगो विकासका लागि नयाँ शैक्षिक कार्यक्रम विस्तार, अनुसन्धानमा लगानी, डिजिटल पूर्वाधार निर्माण, शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि र पर्याप्त सरकारी अनुदान सुनिश्चित गर्न सरकार, त्रिभुवन विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगसँग उनले आग्रह गरे।कार्यक्रममा सहभागीहरूले सामुदायिक क्याम्पसहरू नेपालको उच्च शिक्षाको आधार स्तम्भका रूपमा स्थापित भएको निष्कर्ष निकाल्दै यस क्षेत्रको सुदृढीकरणका लागि सरकार, विश्वविद्यालय र सम्बन्धित निकायबीच थप प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।