काठमाडौं - नेपाल मेडिकल कलेजमा विद्यार्थी, शिक्षक तथा कर्मचारीबीच खेलकुद संस्कृति प्रवर्द्धन गर्दै आर्थिक अभावमा रहेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले १५ दिने च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ। शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै खेलकुद महोत्सवको शुभारम्भ गरिन।
उद्घाटनसँगै आयोजित म्याराथुन प्रतियोगितामा पुरुषतर्फ अजय क्षेत्री प्रथम, सुमन तामाङ द्वितीय र मनिष ऐर तृतीय भए। महिलातर्फ सन्ध्या पौडेल प्रथम, रोशिका बैद्य द्वितीय तथा दर्शिता भण्डारी तृतीय भइन्। विजेताहरूलाई डा. यासमिनले मेडल र प्रमाणपत्र प्रदान गरेकी हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै डा. यासमिनले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न खेलकुदको महत्त्वपूर्ण भूमिका रहने बताइन्। यस्ता कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कलेज प्रशासन विद्यार्थीको प्रतिभा विकास र अतिरिक्त क्रियाकलाप प्रवर्द्धनमा निरन्तर सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरिन्।
‘स्वास्थ्यतर्फ हाम्रो प्रयास (OATH)’ सँगको सहकार्यमा आयोजना गरिएको स्पोर्ट्स फेस्टमा एमबीबीएस, बीडीएस, बीएससी नर्सिङका विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीको उल्लेखनीय सहभागिता रहेको छ। आयोजकका अनुसार विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्नुका साथै आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो।
OATH की अध्यक्ष डा. असिमा गौतमका अनुसार महोत्सवमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल तथा पब्जी लगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन हुनेछन्। कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्याय, विभिन्न संकायका शिक्षक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

