काठमाडौँ- बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा व्यवसाय प्रशासन, व्यवसाय तथा व्यवस्थापन, होटेल व्यवस्थापन, सूचना प्रविधि तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका ४१५ जना विद्यार्थी दीक्षित भएका छन्।
समारोहका प्रमुख अतिथिका रूपमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह सहभागी भएका थिए। कार्यक्रममा सन्डरल्यान्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
कलेजका अनुसार बीबीए (Bachelor of Business Administration), बीएचएम (Bachelor of Hotel Management), बीएससी आईटी–सीएसई (BSc IT–CSE) तथा एमबीए (Master of Business Administration) कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको हो।
दीक्षान्त समारोहका अवसरमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीलाई सन्डरल्यान्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको छ। साथै, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई आईएसएमटी समूहअन्तर्गत सञ्चालित क्याम्पसहरूमा स्नातकोत्तर तह अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको कलेजले जनाएको छ।
हाल आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्दै आएको छ। ती क्याम्पसहरूमा बीबीए, बीएचएम, बीएससी आईटी–सीएसई, साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक्स, एमबीए र एमएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन भइरहेका छन्।